रामेछाप । गएराति परेको अविरल बर्षा पछि लिखु नदीमा आएको बाढीले रामेछाप जिल्लाको उमाकुण्ड १ गुम्देलमा नीजि तथा सार्वजनिक सम्पत्तिको ठुलो मात्रामा विनास गरेको छ । सडक पूर्वाधार नहुदाँ उत्तरी गाउँ लाह्छेवर सगकाे यातायात सम्पर्क टुटेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाका अनुसार राती आएको बाढीले लिखु १ जलविद्युत आयोजनाको बाँध, केहि मोटरेबल पुल र एउटा होटलमा क्षति पुगेको छ । उमातिर्थ नजिकै भिजन जलविद्युत आयोजना तर्फ जोड्ने पुल बाढीमा बगेको छ । बाँधमा क्षति पुगेपछि ७७ मेघावाट विद्युत उत्पादन भइरहेको लिखु १ जलविद्युत आयोजना बन्द भएको छ ।

विद्युत आयोजना र नेपाल सरकारले निर्माण गरेका विभिन्न स्थानका ३ वटा पुल बगेको स्थानीयले जनाएका छन् । यद्यपी यसको आधिकारिक पुष्टि भएको छैन् । खोलाले सडक पूर्वाधारमा समेत ठुलो क्षति पुगेकोले माथिल्लो गुम्देलमा पर्ने लाह्छेवर तर्फको सम्पर्क टुटेको छ । उक्त क्षेत्रमा करिव ४५ परिवारको बसोवास रहेको छ । जलविद्युत आयोजना निर्माणाधिन रहेकाले उक्त आयोजना र सुरक्षाकर्मी समेत लाह्छेवर क्षेत्रमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीषक राजन प्रसाद तिम्सिनाका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ । अस्थायी प्रहरी चौकी गुम्देल र प्रहरी चौकी बाम्तीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा २।२ जनाको प्रहरी टोली त्यस तर्फ जादै गरेको तर बर्षाको कारण प्रहरी पुग्न ढिलाई भएको जनाएको छ । प्रहरी पुगेपछि घटनाको पूर्ण विवरण आउने पनि प्रहरीले जनाएको छ ।
