काठमाडौं । प्राय अन्यत्र हम्मेसी नपाईने रामेछापको हरियो काक्रो हरेक शनिबार काठमाडौंको बानेश्वरमा लाग्ने साप्ताहिक हाटमा खोसाखोस जस्तै हुन्छ । ‘ल्याउनु प¥यो, बिक्रि नहोला भन्ने छैन् ’ व्यवसायी हीरा श्रेष्ठ भन्छन् – रामेछापको काक्रो स्वादिलो र हेर्दानै खाउखाउ जस्तो छ । अरु जिल्लाका पनि हाटमा किसानले पनि काक्रो नल्याउने हैनन््, तर रोजाई रामेछापको काक्रोनै हुने गरेको छ ।

रामेछापबाट कृषि उत्पादन लिएर बानेश्वरमा लाग्ने हाटबजारमा पुग्ने हीरा श्रेष्ठ विस्तारै सिजन बमोजिमका कृषि उपज र फलफुलको स्वाद राजधानीबासीलाई चखाउदै व्यवसायको क्षेत्र विस्तार गरिरहेका छन् । ‘भर्खर प्रचार हुन थालेको छ ’ श्रेष्ठ भन्छन् – त्यैपनि ठाउँ अलि साँघुरो र कुनामा रहेकोले धेरैमा हाम्रो चर्चा पुगेकै छैन् । उनले सिजन बमोजिमको स्वादिलो खुर्पानी, स्थानीय जातको केरा र काक्रो धेरै विक्री गरे । अव ड्रागनफ्रुटको सिजन आएको छ, त्यसपछि किबी । किबी सकिना साथ सुरु हुन्छ जुनार सुन्तला ।

१२ साता अघी देखि शुरु भएको बानेश्वरको केएण्डके क्याम्पस नजिकै रहेको मौलिक भान्साघरको आँगनमा विहानै ७ बजे देखि मध्यान्ह १२ बजे सम्म लाग्ने साप्ताहिक हाट बजारमा रामेछापको मन्थली नगरपालिका र जिल्लाका अन्य क्षेत्रमा उत्पादन भएका सामाग्री आईपुग्छन् । आज पनि हीरा विहानै देखि रामेछापेली उत्पादन फिजाँएर विक्रीका लागि बसिरहेका छन् । रामेछापबाट आउने कृषि उपजहरु रामेछापेली मात्र हैन, राजधानीमा बस्नहेका छे धेरैले रुचाईरन् । ‘हाटमा ल्याउने सामान ग्रेडिङ गरिएका गुणस्तरयुक्त हुनाले अहिले सम्म कसैले यस्तो र उस्तो भनेर प्रतिक्रिया दिएका छैनन्, यसको अर्थ सवैले रामेछापेली उप्पादनलाई रुचाईदिएका छन् ’ श्रेष्ठले सन्तुष्टि जनाए ।

असारको अन्तिम शनिबारका लागि रामेछापको लेकाली क्षेत्रमा फलेको स्वादिलो आलु आएको छ । रामेछापको आलु मुखमै विलाउने र स्वादिलो भएकाले खोजि धेरै हुन थालेको छ । तर हाट बजारमा पुग्ने थोरैले मात्र यो आलु पाउने गरेका छन् । ग्रडिङ गरेको आलु प्रतिकेजि ५० रुपैयाँ पर्ने श्रेष्ठले वताए । रामेछापमा बार्षिक करोडौंको आलु उत्पादन हुन्छ तर पनि चाडैनै भण्डार रित्तिन्छ । त्यसका अतिरीक्त औषधिय गुण भएको सजिवन ( मोरिङ्गो ) को कोषा र पात यो शनिबारको लागि आकर्षक कृषि उपज हुन् । सजिवन पछिल्लो समय मधुमेह र उच्च रक्तचापका विरामीहरुका लागि खोजिको कृषि उपज हो । रामेछापमा यो ठुलो मात्रामा उत्पादन हुने गरेको कुरा सजिवनको बजार विस्तार र सेवनको फाईदा बारेको प्रचारमा जुटेका विपिन भट्टराईले वताए । उनको प्रयासमा जिल्लाका कयौं स्थानमा फलेर त्यसै खेर गइरहेको सजिवन यस बर्ष काठमाडौंका बजारमा बिक्री भएको छ र किसानले थोरै भएपनि पैसा आर्जन गर्न सकेका छन् ।

जाडोयाममा रामेछापमा फलेको गेडागुडिको खोजि पनि काठमाडौंमा असाध्यै हुने गरेको छ । चिसो काठमाडौंमा बसोवास गर्नेहरुका लागि रामेछापको गहत, मस्याङ, बोडि, कालोमास, बटमास, जुनेलो, कागुनु जस्ता गेडागुडिले लोभ्याउदै आएको छ । अझ पछिल्लो समय उच्च हिमाली क्षेत्रमा हुने सेतो सिमी र दक्षिणी भागमा फल्ने राजमाको बजार विस्तार हुदैछ । उक्त दुवै गेडागुडि तरकारी र दालका लागि स्वादिष्ट मानिन्छन् । यसका अतिरीक्त डेरीजन्य सामाग्रीहरु पनि साप्ताहिक हाटबजारमा पाईने गरेको छ ।

रैथाने कृषि उपजहरु काठमाडौंमा बस्ने रामेछापेलीका अतिरीक्त हाटमा आउने उपभोक्ताहरुलाई बिक्री गर्न मन्थली नगरपालिकाले एउटा स्टल पाएको छ । उक्त स्टलमा देशभरीका विभिन्न ३६ वटा स्थानीय सरकारले आफ्ना क्षेत्रमा उत्पादन भएका कृषिउपजहरुको विक्री वितरणको चाँजोपाँजो मिलाएका छन् । हाटबजार लाग्ने थलो अलि कुनामा भएकाले वजार विस्तारका लागि भने अलि समय लाग्ने कृषकहरुको बुझाई छ । प्रबद्र्धन हुन समय लाग्छ , श्रेष्ठले भने – अहिले हामी प्रचारकै क्रममा छौं ।

श्रेष्ठका अनुसार नगरपालिकाले सातामा रामेछापबाट काठमाडौं आउजाउका लागि एकजना व्यवसायीलाई बसभाडा उपलव्ध गराउछ । बसमा ढुवानी गरेर ल्याउने कृषि उपजको भाडा भने व्यवसायीलेनै तिर्छन् । बसभाडा आफ्नो परेकाले व्यवसायीहरुले नगरपालिकाको उत्पादनका अतिरीक्त जिल्लाको अन्य क्षेत्रमा उत्पादन भएको सामाग्री समेत ल्याउने गरेका छन् ।