रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको अध्यक्षतामा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले यस चौमासिकका अतिरीक्त चालु आर्थिक बर्षमा संचालन गरिएका विकास निर्माण र सेवाको क्षेत्रमा भए गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो । कार्यक्रमबाट भएका उपलव्धि र आईपरेका चुनौतिहरुका बारेमा पनि सार्वजनिक सुनुवाई कार्यक्रममा सवालजवाफ भएका थिए ।
कार्यक्रममा सहभागिहरुले विभिन्न विकास निर्माण योजना र सेवाको क्षेत्रका सम्बन्धमा जिज्ञासाहरु राखेका थिए । ति जिज्ञासाहरुको गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट, प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठ र विषयगत शाखाका प्रमुखहरुले प्रष्ट पारेका थिए ।
कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्षमा पूँजिगत र चालु तर्फ कुल ४६ करोड ३१ लाख ९४ हजार ६ सय ३९ रुपैयाँ बजेट खर्च गरेर कुल ८४ दशमलव ७८ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जानकारी गराइएको थियो ।
गाउँसभाबाट चालु आर्थिक बर्षका लागि पूँजिगत तर्फ कुल २० करोड ७ लाख ७८ हजार बार्षिक बजेट स्वीकृत भएकोेमा १५ करोड १२ लाख ७१ हजार ८ सय ४० रुपैयाँ खर्च भई ७५ दशमलव ३४ प्रतिशत वित्तिय प्रगति भएको छ भने चालु तर्फ ३४ करोड ५५ लाख ५४ हजार ३ सय ९२ रुपैयाँ बार्षिक बजेट रहेकोमा ३१ करोड १९ लाख २२ हजार ७ सय ९९ रुपैयाँ खर्च भई कुल ९० दशमलव २६ प्रतिशत वित्तिय प्रगति भएको प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठले जानकारी गराएका थिए ।
