रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौंमा निर्माण थालिएको शितभण्डार गृह ७ बर्ष पछि बल्ल आज देखि परिक्षण संचालनमा आएको छ ।

बागमति प्रदेश सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री मधुसुधन पौडेलले मंगलबार उक्त शितभण्डारको सुभारम्भ गरेका छन् । उक्त शितभण्डार बागमति प्रदेशको कृषि तथा पशुपंक्षि मन्त्रालयको ७० र मन्थली नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको हो ।

शित भण्डारको भवन निर्माण कार्य पुरा भएको झण्डै ३ बर्ष वितेको थियो । तर उक्त भण्डार गृहमा विद्युतिय उपकरण जडान लगाएतको काम बांकी थियो । करिव ७ करोडको लगानीमा निर्माण भएको उक्त शितभण्डारमा अव जिल्लामा उत्पादन भएकाका कृषि उपजहरु राखिनेछन् ।

निर्माणाधिन अवस्थामानै थप लगानीका सम्वन्धमा दुई पक्ष विच कुरा नमिल्दा शित भण्डारको काम पुरा गरी संचालनमा ल्याउन अन्यौलता भएकोले ३ बर्ष भवन तयार भएर पनि अलपत्र रहेको थियो । बांकी कामको लागि लगानी सम्बन्धि अन्यौलतालाई किनारा लगाएर झण्डै ३ बर्ष पछि बांकी काम गरिएका हुन् । सरकारका दुई निकायको लगानीको प्रकृया बारे अस्पष्ट हुदां स्थानीयले भने शितभण्डारको निर्माण गरेको काम पनि नष्ट हुने अवस्थामा पुग्न थालेको भन्दै विरोध गर्दै आएका थिए । यस बर्ष बाहिरी घेराबेरा लगाउनुको साथै अन्य केहि संरचना निर्माण गरेपछि भण्डारगृह संचालनमा ल्याईएको हो ।

रामेछाप जिल्लामा अहिले सम्म शित भण्डार थिएन । जिल्ला सदरमुकाममा शित भण्डार पुरा भएपछि स्थानीय रुपमा उत्पादन हुने जुनार, सुन्तला, किवि ड्रागनफ्रुट र हरियो तरकारीलाई सुरक्षित राख्ने आशामा किसानहरु रहेका छन् । ‘शित भण्डार संचालनमा आएको खवरले खुसी छौं अव हाम्रो उत्पादन थप केहि महिना सम्म सुरक्षित राखेर वजार पठाउन सक्ने भयौ ’ ओख्रेनीका जुनार उत्पादक किसान विकास मोक्तान भन्छन् – अहिले सम्म रुखैबाट फलफुल टिपेर बेलैमानै वजार पठाउनु पर्ने बाध्यता रहेकोले किसानले चाहेको मूल्य लिन सकिएको थिएन । सवै जुनार सुन्तला एकै पटक पाक्छ मोक्तानले भने – पछि मूल्य आउछ भनेर पर्खेर वस्न सकिदैनथ्यो अव भाउ पाउछ होला ।

उत्पादित तरकारी र फलफुल अफसिजन सम्म शितभण्डारमा राखेर वजार पठाउदा किसानले उत्पादन गरेका कृषि उपजको मूल्य अविवृद्धि हुने उद्धेश्यले उक्त शितभण्डारको निर्माण गरिएको हो । शितभण्डारको क्षमता ५ सय टनको रहेको छ ।

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले प्रदेश र मन्थली नगरपालिकाको लगानीमा निर्माण भएको शितभण्डारलाई व्यवस्थित रुपमा संचालन गरि किसानहरुको उत्पादनलाई सुरक्षित र मूल्यअभिवृद्धि गराउनका लागि आवश्यक योजनाका साथ अघी बढ्ने वताए । उनले थप व्यवस्थापनको लागि आगामी आर्थिक बर्षमा समेत बागमति प्रदेशको सहयोग रहने वताए ।