रामेछाप । जिल्ला सदरमुकाम मन्थली बजारका छाप्रा देखि सरकारी कार्यालय सम्म साँझको अध्यारो चिर्न टुकीको विकल्प नभएको बेला चिसापानीका दिलवहादुर आलेको दिल विजुली बाल्नेमा बस्यो । जेनेरेटर बाट बजार र कार्यालय क्षेत्रमा विजुली बाल्न पाए थोरै भएपनि टुकी निभाउन सकिन्थ्यो कि भन्ने कुरामा उनी केहि दिन घोत्लिए । मन्थली बजारमै घडी रेडियो बनाउने व्यवसाय गर्दै आएका उनलाई विजुलीको ज्ञान पनि थियो । त्यसैले ढिला गरेनन् , जेनेरेटर खोज्न तराई झरे ।

त्यस्तै २०५२ साल तिरको कुरा होला । जनकपुरमा पुगेर खोजी गर्दा ५ किलोवाटको जेनेरेटरलाई ६० हजार पर्ने भयो । त्यहि खरिद गरे । जनकपुर चुरोट कारखानाको गाडीले सिन्धुली सम्म जेनेरेटर ढुवानी गरिदियो । सिन्धुली बाट रामेछाप तिरको सडक थिएन । ‘मानिसको भरमा बोकेर ल्याउन पनि नसकिने भएकाले त्यसलाई तीन टुक्रा बनाएर नोल लगाई बोकाएर ल्याए’ दिलवहादुर आले भन्छन् – बल्ल तल्ल मन्थली ल्याएर जोडियो ।

जेनेरेटर मात्र हैन्, त्यसलाई चाहिने डिजल पनि सिन्धली देखिनै बोक्नु पर्दथ्यो । सवै सामान जोरजाम गरेपछि अहिलेको जिल्ला समन्वय समिति अघिल्तिर जेनेरेटर राखियो र संचालनको चाँजो मिलाइयो । ‘त्यसबेलामा सवै काम प्रशासनको निर्देशनमा गरेको थिए ’आले भन्छन् – मनोरञ्जनका कुनै साधन थिएनन् , साँझ परेपछि सवैतिर टुकीको धिपधिपेको भर पर्नुको विकल्प थिएन्, त्यसैले सिडीयो देखि सवैले चाँडो गरौं , चाडो गरौं, भन्ने गर्थे ।

प्रशासनले बजार र कार्यालय क्षेत्रमा साँझ देखि राती १० बजे सम्म विजुली उपलव्ध गराउनका लागि आलेलाई आग्रह गरेको थियो । उनले त्यस आग्रह बमोजिमनै विजुली वितरणको प्रवन्ध गरे । मन्थली भन्दा केहि टाढा देखि बाँस झिकाएर पोल तयार गरे । कार्यालय क्षेत्र, मन्थली बजार र खाँदबारी सम्म पोल विस्तार गरे । बाँस गाडेर त्यसमा ३।२२ को तार टाँगियो । अनि आवश्यकता हुनेलाई होल्डर झुण््याएर बल्ब जोडियो ।

‘सवै सामान मैलेनै व्यवस्था गरे’ आले सम्झन्छन् – बल्व अलि उज्यालो दिने खालकै ल्याए । झण्डै ८० वटा वत्ति बाल्न जेनेरेटरले भ्याउथ्यो । नजिकै भएको भए अलि धेरै बल्थ्यो होला । उनले भने – लाईन टाढा सम्म पुग्दा विचमै क्षमता घट्दो रहेछ ।

त्यसरी विजुली बाल्दा प्रशासनले शूल्क तोकिदियो । प्रति बल्ब मासिक ५० रुपैयाँ । त्यस बेलामा त्यो धेरै पैसानै हो । हुन त उनले जेनेरेटर र सवै सरसामानको लागि झण्डै २ लाख खर्चेका थिए । त्यसबेलाको २ लाख भनेको मन्थली बजारमा ३ वटा घडेरीनै आउथ्यो ।

जेनेरेटर चलाउदा भोलीका दिनमा केहि असजिलो होला कि भनेर मलाई प्रशासनले संस्था दर्ता गर्न भन्यो । आले भन्छन् – मैले पशुपति विजुली सर्भिस भन्ने संस्था नै दर्ता गरेको थिए, अहिले त्यो के भयो थाहा छैन् । कार्यालयमा जोडेको बत्तिको विल गर्नका लागि संस्थाले सजिलो बनायो । व्यक्तिहरु त समयमानै पैसा तिर्न आउथे । पैसा नतिर्दा लाईन नदेला भन्ने पिरलो हुन्थ्यो क्यार ।

जेनेरेटरले मन्थली साँझ परेपछि उज्यालो हुन्थ्यो । सदरमुकाम जस्तो भयो त्यसबेलामा । त्यसपछि आलेले मनोरञ्जनका लागि भिडियो पनि देखाउन थाले । हरेक शनिबार रामायण र महाभारत जस्ता सिरीयल निशूल्क देखाए । अरुबेलामा नेपाली र हिन्दी फिल्म । फिल्म सकिदा जेनेरेटर पनि बन्द गर्ने बेला हुन्थ्यो । त्यस समयमा खचाखच जस्तै हुन्थ्यो भिडीयो हेर्ने छाप्रो ।

जेनेरेटर नियमित जस्तै चल्थ्यो । कहिलेकाँहि फित्ता छिन्ने र तेल सकिने समस्या बाहेक धेरै झण्झट बेहोर्नु परेन । विग्रीहालेमा पनि उनी आफै बनाउन सिपालु थिए । २०५६ कात्तिकमा विद्युत प्राधिकरणले मन्थलीमा वत्ति बाल्यो । त्यसपछि जेनेरेटरको वत्ति युग सकियो । आलेले जेनेरेटर अन्तै तह लगाए ।

उनलाई अहिले त्यस बेलामा गरेको कर्म सम्झदा गौरबको अनुभुति हुन्छ । त्यस बेलामा मैले पैसा त कमाइईन तर नाम कमाएको थिए  आले भन्छन्  सरकारमा जलश्रोत मन्त्री काँग्रेस नेता लक्ष्मण घिमिरे थिए । ‘सरकारले नसकेको बत्ति बाल्ने काम गरेकोले धेरैले मलाई जलश्रोत मन्त्री पनि भन्थे त्यसबेला ।