रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २९ औं बार्षिक सभारण सभा बिहिबार मन्थलीमा सम्पन्न भएको छ । संस्थाले जिल्लाका विभिन्न स्थानमा कार्तिक २८ गते देखि बार्षिक साधारण सभाको आयोजना गरी विहिबार निर्णय प्रमाणीकरण सभा गरेको हो ।
संस्थाका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा सचिव हिमाल ढुंगेल, कोषाध्यक्ष महेशराज घिमिरे र लेखा सुपरिवेक्षण समितिका संयोजक नविन केसी (घिमिरे) ले बार्षिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनहरु साधारण सभाले स्वीकृत गरेको थियो ।
२०५४ सालमा दर्ता भएको उक्त संस्थामा हाल १४ हजार ४ सय १५ जना शेयर सदस्य र बालसदस्यहरुले बचत संकलन गर्दै आएका छन् । मन्थलीमा मूख्य कार्यालय रहेको संस्थाले धोवि, रामेछाप, सालु र गेलुमा सेवा केन्द्र राखेर बचत तथा ऋणको काम गर्दै आएको छ । संस्थाको कुल पूँजी १ अर्ब, २९ करोड, ३२ लाख, ३७ हजार ४ सय ३० पुगेको छ ।

संस्थाको बार्षिक प्रतिवेदन अनुसार संस्थाको बचत संकलन १ अर्ब २ करोड ७६ लाख १३ हजार ३ सय ९० रुपैयाँ, ऋण लगानी ७४ करोड ३० लाख ९२ हजार, ६ सय ७९ रुपैयाँ रहेको छ । संस्थामा कुल ८ करोड ८६ लाख ६७ हजार ८ सय रुपैयाँ शेयर पूँजी संकलन भएको छ । संस्थाले गत आर्थिक बर्षमा आफ्ना शेयरसदस्यहरु विच बचत संकलन र ऋण लगानीको कारोबार गरी १ करोड ३ लाख ४० हजार ९ सय ११ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बार्षिक साधारण सभाको निर्णय प्रमाणिकरण समारोहको संस्थाका पूर्व अध्यक्ष ध्रुवप्रसाद सुवेदीले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरे, तामाकोशी सेवा समितिका अध्यक्ष गुञ्जवहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपक घिमिरेले आ आफ्ना धारणा व्यक्त गरेका थिए । संस्थामा रिक्त रहेको १ सदस्य पदमा हस्त लामा निर्वाचित भएका छन् ।
