रामेछाप । नेपाली काँग्रेस देउवा समूह रामेछापले यहि मंसिर १४ गते रामेछााप जिल्लाको नियमित जिल्ला अधिवेशन गर्ने भएको छ । पार्टीको नियमित १५ औं महाधिवेशनको क्रममा उक्त जिल्ला अधिवेशन हुन थालेको हो । जिल्ला संयोजक जीतवहादुर मगरका अनुसार जिल्लाका अधिकांश वडा अधिवेशनहरु सम्पन्न भईसकेका छन् ।
बिहिबार मन्थलीमा पत्रकारहरुलाई दिइएको जानकारी अनुसार जिल्ला अधिवेशनका लागि विभिन्न ५ वटा उप समिति गठन गरिएको छ । रामकृष्ण खड्काको संयोजकत्वमा प्रचार प्रसार समिति, रमेश खड्काको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, झनकवहादुर श्रेष्ठको संयोजकत्वमा मञ्च तथा भोजन समिति, ऋषिवि थापामगरको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति र दिनेशकुमार घिमिरेको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन भएको छ । जिल्ला अधिवेशनको क्रममा झण्डै १ हजार ४ सय जनाको सहभागिता रहने मगरले जानकारी दिए ।
साथै नियमित अधिवेशनको सिलसिलामा जिल्लाका सवै पालिकामा संयोजक तोकिएको छ । जस अनुसार उमाकुण्डको संयोजकमा जीतवहादुर कटुवाल, गोकुलगंगाको संयोजकमा चन्द्रवहादुर सुनुवार, लिखु तामाकोशीको संयोजकमा संजय तामाङ, रामेछाप नगरपालिकाको संयोजकमा ऋषिभि थापामगर, मन्थली नगरपालिकाको संयोजकमा अभिराज खड्का, दोरम्बा शैलुङको संयोजकमा कृष्ण घिसिङ, सुनापतिको संयोजकमा सुरेन्द्र कुमार घिसिङर खाँडादेविको संयोजकमा सुजन ढुंगेल रहेका छन् ।
