रामेछाप । पर्यटन पूर्वाधार भएर पनि पर्यटकहरुको आवागमनका हिसावले गुमनाम बन्दै आएको रामेछाप नगरपालिका आसपासमा आउदो साता अर्थात मंसिर ५ र ६ गते आन्तरिक पर्यटकहरुले संपदा पदमार्गमा पदयात्रा गर्ने भएका छन् ।
संपदा पदयात्रामा जिल्ला र जिल्ला बाहिरका सयौं पर्यटकहरुले दुई दिन सम्म रामेछाप नगरपालिका आासपासका विभिन्न स्थानमा रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थानमा पुग्ने मात्र छैनन्, ति स्थानहरुको धार्मिक, सांस्कृति र ऐतिहासिकताका बारेमा अध्ययन गरेर आउदा दिनमा अन्य पर्यटकहरुलाई उक्त पदमार्गमा पछ्याउनका लागि बाटो खोल्ने छन् ।
दोलखा भीमेश्वरकै हाराहारीमा धार्मिक महत्व तथा ऐतिहासिक किंवदन्ति रहेको रामेछाप नगरपालिका वडा नम्बर ९ स्थित ल्याङल्याङ भीमसेनस्थानमा पहिलो दिन भेला हुने आन्तरिक पर्यटकहरुका विच रामेछाप सम्पदा पदमार्गको घोषणा हुनेछ । सोहि स्थानबाट पदयात्राको सुरुवात गर्न लागिएको हो ।
पदयात्रा व्यवस्थापनमा जुटेका सामाजिक अभियान्ता अनिल लेकालीका अनुसार भीमसेनस्थानबाट डुकुरसिं डाँडामा पुग्ने स्थानीय र आगन्तुक पर्यटकहरुले नेपालकै सबैभन्दा ठुलो गणेशको मूर्तीको अवलोकन गर्नेछन् । उक्त मुर्ती केहि बर्ष अघी पर्यटन मन्त्रालय र रामेछाप नगरपालिकाको लगानीमा निर्माण भएको हो । नाचिरहेको गणेशको उक्त मुर्ती भारतीय कलाकारले बनाएका हुन् ।
गणेशको मुर्ती दर्शन गरेपछि पदयात्रा टोली तिल्केस्थानगढी पुग्ने छ। केहि पश्चिम तर्फको तिल्केस्नेथानगढी नेपाल आक्रमणका लागि आउदै गरेका अग्रेज फौजलाई सिन्धलीको किल्लाबाट उम्कीहालेमा रोक्ने उद्धेश्यले बनाइएको ऐतिहासिक गढीको अवस्था बुझ्ने छ । नेपाली सेनाले दुई बर्ष अघी उक्त गढीको जिर्णोद्धार गर्नुको साथै कलात्मक शैलीमा मन्दिर निर्माण गरेको छ ।
तिल्केस्थानगढी बाट ऐतिहासिक केवलेश्वर मन्दिर पुग्ने संपदा पदयात्रा टोलीले पुरातात्विक महत्वको महादेवस्थानको दर्शन गर्नेछ । धार्मिक महत्वको केवलश्रवर महादेवको मन्दिर पुरातत्व विभागले केहि बर्ष अघी मात्र पुननिर्माण गरेको हो । केवलेश्वर पछि बावियाखर्क हुदै भंगेरीको नेवार संस्कृतिको अवलोकन गर्नेछ । त्यसैगरी भंगेरीमानै राजनीतिक शिर्ष पुरुष तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल र शहीद गंगालालको जन्मथलो समेत टोली पुग्नेछ ।
पदयात्राको पहिलो दिननै रामेछाप बजार स्थित हाल नेपाली सेनाको तारबार भित्र रहेको ऐतिहासिक निशान भगवती मन्दिरको दर्शन गर्दै नेपाली सेना र बन कार्यालयले निर्माण गरेको शैनिक पार्कमा पुग्ने कार्यक्रम तय भएको छ ।

काठमाडौं लगाएत देशका विभिन्न जिल्लाबाट पुग्ने सम्पदाकर्मी, संचारकर्मी लगाएत जिल्लाका राजनीतिक दलका अगुवा, जनप्रतिनिधि कार्यालय प्रमुख, सुरक्षा र संचारकर्मी लगाएतले उक्त पदयात्रामा भाग लिनेछन् । पदयात्राकै क्रममा पश्चिमको गणेश हिमाल देखि पूर्वको नुम्बुर हिमाल सम्मका हिमालहरु अवलोकन समेत गर्न सकिनेछ ।
लेकालीका अनुसार पदयात्राको दोश्रो दिन रामेछाप बजार नजिकै हालै मात्रै पुननिर्माण गरिएको पशुपति मन्दिरको दर्शन गरेपछि शुरु हुने पदयात्रा, ताराखसे पोखरी, भालुखोप भ्यू टावर हुदै एशियाकै अग्लो बुद्धको मुर्ति निर्माणस्थल ओख्रेनी पुग्नेछ । रामेछाप जिल्लालाई जुनारको जिल्ला भनेर चिनाउने किसानहरुको बगैंचामा पर्यटकहरुलाई घुमाउदै भालुखोप बजारमा पुगेर पदयात्रा समापन हुनेछ ।
करिव १ सय जना पदयात्री सहभागी हुने उक्त संपदा पदयात्राको व्यवस्थापन रामेछाप नगरपालिका, सूर्यचका फाउण्डेसन र रामेछाप नगर उद्योग वाणिज्य संघको संयुक्त प्रयासमा हुनेछ । त्यसका अतिरीक्त विभिन्न सहयोगीहरुले सौजन्य स्वरुप सामाग्रीहरु सहयोग गरेका छन् ।

संपदा पदयात्राले रामेछाप जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वका स्थानहरुमा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमनलाई बढाउन, राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रचार प्रचारमा सहयोग पुग्ने आशा स्थानीयले राखेका छन् ।
