रामेछाप । उमाकुण्ड गाउँपालिका ३ कुभुकास्थलीका मानवहादुर कार्कीलाई अहिले अलैंची भित्र्याउनका लागि भ्याईनभ्याई छ । असोजको आधाउधि देखि उनी यो अभियानमा छन् । ‘अव सकिन थाल्यो अलिअलि बाँकी होला ’ कार्की भन्छन् – यो बर्ष अलि थोरै फलेकोले चाडै सकियो ।

समुन्द्र सहत भन्दा १ हजार ८ सय मिटर भन्दा माथिको बगानमा अझै अलैंची टिप्न बाँकी रहेको छ । तल्लो भागमा चाडै पाक्ने र माथिल्लो भागमा ढिलो पाक्ने भएकाले असोजको अन्तिम साता देखि कार्तिकको दोश्रो साता सम्म अलैंची टिप्ने गरिएको छ ।

अलैंचीको फुल खेल्ने बेलामा यो बर्ष पानी परिदियो । बढी पानी परेकोले फुल कुहियो । कार्कीका अनुसार फुल कुहिएर झरेपछि उत्पादन झण्डै आधा घट्यो । ‘मैले गत बर्ष करिव ४ सय केजि तयारी अलैंची बनाएर बिक्री गरेको थिए, यस बर्ष २ सय केजिको हाराहारीमा मात्र होला’ कार्कीले भने । रोग लागेपछि यो बर्ष उमाकुण्डमा कार्कीको जस्तै अधिकांश किसानको उत्पादन घटेको छ । कुुभुमा एक जना किसानले बर्षको झण्डै ८ सय केजि सम्म अलैंची बनाउने गर्छन् । कार्कीका अनुसार कुभुकास्थलीको बगर आसपासका ६० परिवारले अलैंची खेति गर्दै आएका छन् ।

उमाकुण्ड गाउँपालिकाको प्रिती, कुभुकास्थली, वाम्ती र गुम्देल लगाएतको क्षेत्रमा व्यवसायीक रुपमा अलंैची खेति गर्ने गरिएको छ । छिमेकी जिल्ला सोलुखुम्बुको चौलाखर्क, गोली लगाएतको क्षेत्रमा अलैंची खेति गरेर किसानले लाभ लिन थालेपछि सिमावर्ति रामेछापका किसानले पनि बर्षौ अघी देखि उक्त खेति गर्ने अभियान थालेका हुन् ।

धान बाली हुने खेत मासेर अलैंची रोपेका किसानले अलैंचीको भाउ भने हरेक बर्ष उतार चढाव सहनु परेको छ । कार्कीका अनुसार कुनै बर्ष ५।६ सय रुपैयाँ केजिमा विक्री गर्न पनि धौ धौ भयो । भाउ घटेपछि किसानले अलैंची मास्ने अभियान थालेका थिए । तर दुई बर्ष अघी देखि अलैंचीको राम्रो भाउ आएको छ । गत बर्ष २ हजार ४ सय ५० रुपैयाँ केजिको दरले भाउ पाएका स्थानीय किसानले यो बर्ष पनि त्यसैको हाराहारीमा मूल्य आउने आशा राखेका छन् । अलैंची उत्पादक किसान अमृत सुनुवार भन्छन् – अलैंची विक्री भईसकेको छैन्, बजार भाउ हेर्दा त्यति निराशा हुुनुपर्ने अवस्था यो बर्ष छैन् । अलैंचीको बजारमा प्रतिमन ९१ हजार जति मोल चलेको छ । त्यो भनेको प्रति केजि २ हजार २ सयको हाराहारी हो । स्थानीय व्यवसायी देखि बाह्य व्यापारीहरु अलैंची खरिदका लागि घर दैलोमा आईपुग्ने हुदाँ बजारको भने किसानलाई चिन्ता छैन् ।

केहि बर्ष अघी सोलु क्षेत्रबाट फैलिएको ढुसीजन्य रोग लागेपछि धेरै किसानले बगैंचा मासेर अरु खेति थालेका थिए । तर रोग कम र मूल्य धेरै हुन थालेपछि फेरी अलैंची लगाउने किसान बढेका छन् । त्यैपनि रोग भने निर्मूल हुन सकेको छैन । यो बर्ष पातमा सेतो ढुसी लगाउने किरा बस्यो । पात सुकाउने गरी खाईदियो । किसानहरुले रोगको पहिचान गर्नै नपाउदै लागेको फल पनि विकास भएन । मकैंको गेडा झै सानै बसिदियो । कामै लागेन ।

गाउँपालिकाको अधिकांश भागमा बहुमूल्य मसलाजन्य अलैंचीको खेति गरेर किसानहरुले उल्लेख्य लाभ लिने जानकारी हुदाँ हुदै पनि गाउँपालिकाले किसानहरुको घर दैलोमा प्राविधिक र रोगकिरा निदानका लागि कुनै सहयोग गरेको छैन् । अलैंची खेतिको तालिम अन्य संघ संस्था बाट पाएको वताउने कार्की गाउँपालिकाले प्राविधिक र रोगकिरा नियन्त्रणका लागि बार्षिक रुपमा सघाएमा अरु धेरै किसानले अलैंची लगाउने र आर्थिक रुपमा सबल हुन मौका पाउने दावि गर्छन् ।