रामेछाप । बर्षा सकिए सगैं तामाकोशीमा फेरी जलयात्रा शुरु भएको छ । बर्षामा तामाकोशीमा ठुलो भेल हुने भएकाले जलयात्रा केहि महिनाका लागि रोकिएको थियो ।
दशैं भन्दा केहि अघी देखि तामाकोशीमा तामाकोशी मरिण एड्भेन्चरले जलयात्रा शुरु गरेको हो । जलयात्राका लागि २ वटा राफ्टिङ प्रयोगमा ल्याईएको छ ।

तामाकोशी मरिण एड्भेन्चरका संचालक सागरहरी अधिकारीका अनुसार हलेदे देखि मन्थली पुल सम्म र मन्थली पुल देखि कुनौरीको पुल सम्म दुई भागमा जलयात्राको व्यवस्थापन गरिएको छ । साहशिक जलयात्राका लागि हलेदे देखि मन्थली पुल सम्मको भागलाई लिईन्छ । उक्त खण्डमा तामाकोशी केहि स्थानहरुमा धारिलो र तिव्र गतिमा बग्ने भएकाले यात्रालाई साहशिक र रोमाञ्चक बनाउने अधिकारीले वताए । त्यसको तुलनामा समथर भागबाट पानी बग्ने मन्थली पुल देखि कुनौरी पुल सम्मको खण्डमा पनि जलयात्राको व्यवस्था गरिएको छ । दशैं तिहारको विदा अनि सगरमाथा तर्फ जानका लागि रामेछाप विमानस्थल पुग्ने पर्यटकहरुलाई लक्षित गरेर राफ्टिङ संचालनमा ल्याइएको हो ।

तामाकोशी मरिण एड्भेन्चरले गत बर्ष संचालनमा ल्याएको जेटबोड बाढीले बगाएकोले हाल उक्त सेवा उपलव्ध छैन् । झण्डै ७० लाखको लागतमा निर्माण गरि ल्याएको जेटबोड बाँधेको डोरी चुडाएर बाढीले लगेको थियो । सुरक्षाकर्मी, गोताखोर र स्थानीयको सहयोगले खाँडादेवि गाउँपालिकाको रजगाउ नजिकबाट जेटबोड निकालिएको भएपनि पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।