रामेछाप । रामेछापको प्रशिद्ध धार्मिक स्थल खाँडादेवि मन्दिरमा बडादशैंको अवसरमा बलि दिन र दर्शनका लागि दर्शनार्थीको भीड लाग्ने गरेको छ । याे मन्दिर रामेछापकाे प्रमुख धार्मिक महत्वकाे स्थानकाे रुपमा रहेको छ ।
नबरात्री देखिनै मन्दिरमा टाढा टाढा देखि पूजाआजा गर्न भक्तजनहरुको घुँईचो लाग्दै आएको छ । फुलपाती, महाअष्टमी र महानवमीको दिनमा अरु भन्दा धेरै दर्शनार्थीको घुँईचो देखिएको खाँडादेवि विकास कोषका अध्यक्ष शेरवहादुर तामाङले वताए ।

रामेछापको पश्चिम खाँडादेविमा रहेको उक्त मन्दिरमा पूजाआजा गर्नाले मनले चिताएको कुरा पुरा हुने धार्मिक मान्यता र जनश्रुति रहेको छ । साक्षात देविको रुपमा रहेकी खाँडादेविमा पञ्चबली दिने गरिएको छ । बर्षमा दुई पटक सरकारी पुजाआजा गर्ने चलन पनि मन्दिरमा रहेको छ । विक्रम सम्बत १९०४ सम्म दरबार बाट पूजा पठाउने चलन रहेको थियो । दरबारले पूजा पठाउने चलन छोडे पछि कोषले आफ्नै तर्फबाट सरकारी विषेश पूजा गर्दै आएको छ । चैतेदशैंको राम नवमी र बडादेशैको महानवमिमा सरकारी पूजा हुन्छ ।
कोषका अध्यक्ष तामाङका अनुसार विक्रम सम्बत १५१५ मा उत्पति भएको मानिएको खाँडादेवि मन्दिरमा १५७३ मा चढाएको घण्टा प्रमाणको रुपमा रहेको छ । पुरातत्व विभागले मन्दिरको पूननिर्माण गरेको र मन्दिर सम्म पुग्नका लागि सडक सहज भएपछि दर्शनार्थी बढ्दै गएका छन् । यद्यपी विपी राजमार्गमा हुने बारम्बार अवरोधका कारण काठमाडौं उपत्यका बाट आउने दर्शनार्थी भने घटेको उनले वताए । मन्दिरमा बडादशैंका बेला एकै दिन ५० हजार सम्मले दर्शन गरेको रेडर्क रहेको तामाङले वताए ।

