रामेछाप । दुई बर्ष अघी देखि गाउँमा पहिरो चल्यो । घर चिरीए । मतान लडे । सरकारले अस्थायी रुपमा बस्नका लागि हालिदिएको चाईनिज टेण्ट च्यातचुत भयो । सरकारले स्थायी बसोेवासको प्रवन्ध गरेन । सुनापति ३ हिलेदेविको साउने र केउरीनीका ७७ परिवार यस्तै अन्यौलमा चिरीएका घरमा दुर्गा स्थापना गरेर दशै मनाउदैछन् ।

यो बर्षको दशै त्यति राम्रो छैन् । गत बर्ष देखि जमिन फाँटिदो र सर्दो छ, त्यहि जमिन माथि चर्किएर लड्न ठिक्क परेको घर र अस्थायी जस्ताको टहरा हालेर बसेका सुनापति गाउँपालिका ३ हिलेदेवि स्थित केउरीनी र साउनेका बासिन्दाले यस बर्षको दशै भित्र्याएका छन् । जुन घरमा उनीहरुले माता दुर्गा लाई भित्र्याएका छन्, त्यहि घरमा उनीहरुको चाँहि कुन दिन सम्म बास हुने हो ? ठेगान छैन् । दशैंको त्यति उत्साह पनि गाउलेलाई छैन् । पोहोरको भन्दा धेरै जोखिम यो बर्ष थपिएको छ, तर सरकार बरु पोहोर तिर हल्ला गरेर सार्न तम्सिएको थियो, यो बर्ष खोजखवर केहि छैन् स्थानीय विरवहादुर कार्की भन्छन् – पानी रोकिएकोले हाम्रो पिडा पनि रोकिएको छ । जोखिम चाहि बढ्दो ।

जमिन सरिरहेको छ, तर जाने ठाउँ छैन् सुनापति ३ का वडा सदस्य टेकवहादुर श्रेष्ठ भन्छन् – जसरी भएपनि चाडबाड मान्नु पर्ने रहेछ । जस्ताको टहरा र चर्केर लड्न ठिक्क परेको घरमा दुर्गा स्थापना गरेर स्थानीय बासिन्दाले खसी काटेका छन्, टीकाको तयारी गरेका छन् ।

पुरै जमिन भाँसिने र पहिरीएर झर्न थालेपछि हिलेदेविको साउने, केउरीनी लगाएमा वसोवास गर्ने ७७ परिवारका मानिस दशैं सकिने वित्तिकै अहिले सम्मकै ठुलो विपत्तिमा परेका छन् । केहिको घर भत्कियो, केहिको बस्नै नहुने भयो र केहिको सामान्य चिरा देखिए पछि कोलाहलै भयो । हेर्दा धेरै जोखिमपूर्ण अवस्थामा पुगेको गाउँमा अहिले भने त्यो बेलाको कोलाहल छैन्, घाम लागेका छन्, त्यहि भएर स्थानीयको त्रास घटेको छ ।

श्रेष्ठ भन्छन् – पानी पर्दा आत्तिने, २ दिन घाम लाग्यो भने फेरी ढुक्क भएर वस्ने चलन छ । अहिले हिलेदेविको साउने, केउरीनी लगाएत टोलका बासिन्दाले अहिले त्यहि गरेका हुन् । ‘सधैं ढुक्क हुने अवस्था छैन्, पहिरो झर्न रोकिने र राज्यको लगानीमा नियन्त्रण हुने कुरा सम्भवै छैन् ’ श्रेष्ठ भन्छन् – सर्नु त छदैछ, तर कता व्यवस्था गर्ने भन्ने अन्यौल छ । पहिरो चलेपछि जम्मा ४ परिवारले अन्यत्र बसोबास सारेको श्रेष्ठले वताएका छन् ।

हिलेदेविको पहिरो नयाँ हैन् , २०३५ सालमै पहिरो चलेको थियो । त्यसबेला पञ्यायती सरकारले पहिरो प्रभावितहरुलाई गाउँबाट उठाएर तराईको तारातालमा बसाई सारे । तर दुर्भाग्य के भईदियो भने , जो सुरक्षित स्थानमा सरे, उनिहरुले अरुलाई सस्तोमस्तोमा आफ्नो पहिरोले घेरेको जग्गा विक्री गरे । धान हुने र हेर्दा जमिन राम्रो भएकाले सस्तो जग्गा पाएपछि वरिपरीकाले किने र विस्तारै त्यहि वस्ती वसाले । अहिले त्यहि पुरानो पहिरोले चर्को रुप लियो, उनिहरु मध्ये केहिको मात्र अव अन्यत्र जग्गा छ, अधिकांशको अन्यत्रको जग्गा वेंचे । अहिले कहाँ जाने भन्ने पिरलो पर्यो ।

वडा अध्यक्ष कुलवहादुर थिङका अनुसार खानीखोला घटेकोले तलबाट कटान रोकिएको, पहिरोको विच बाट निस्केको मुलको पानी घटेको र घाम लागेकाले तत्कालै कुनै अप्रिय घटना नहोला कि भन्ने छ । तर त्यहि स्थानमा अर्को बर्षामा वस्ने अवस्था भने छैन् । ‘चर्को घाम लाग्दा पनि जमिन धाँजा बढ्ने रहेछ ’ वडा सदस्य श्रेष्ठ भन्छन् – दैनिक ४ ईन्च जति धाँजा बढीरहेको छ, घाम लाग्दा जमिन फाट्छ भनेको हो रहेछ ।