रामेछाप । भोली बिहिबार देखि संचालन हुने एसइई परीक्षाका लागि रामेछाप जिल्लामा सम्पूर्ण तयारी पुरा भएको छ । परिक्षामा रामेछाप जिल्लाबाट विभिन्न १९ वटा परिक्षा केन्द्र मार्फत २ हजार ७ सय ४ विद्यार्थी सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ रामेछापले जनाएको छ ।


शिक्षा विकास तथा समन्वय इकाइ रामेछापका अनुसार यस वर्ष जिल्लामा एसइई परीक्षामा नियमित साधारणतर्फ २ हजार ३ सय १८ जना र प्राविधिकतर्फ १ सय १३ जना सहभागि हुदैछन् । ग्रेडवृद्धि साधारणतर्फ २ सय ६९ जना र प्राविधिकतर्फ ४ जनासहित जिल्लाका ९१ विद्यालयबाट २ हजार ७ सय ४ जना परीक्षार्थीहरूले एसइई परिक्षा दिन लागेका हुन् ।


परिक्षाका लागि तोकिएका सबै केन्द्रमा प्रश्नपत्र र परिक्षाका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु पुगिसकेका छन् । परिक्षाकेन्द्रका लागि जिल्लाले प्रयाप्त सुरक्षा प्रवन्ध गरेको र निरीक्षक लगाएतको व्यवस्था मिलाइएको छ ।