रामेछाप । रामेछाप जिल्लाको एक मात्र स्ववियु मान्यता पाएको मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसमा आज शान्तिपूर्ण रुपमा मतदान कार्य भइरहेको छ । निर्धारीत समय विहान ८ बजे देखि शुरु भएको मतदानकार्यमा अपरान्ह १ बजे सम्म ३ सय भन्दा बढी मत खसेको छ । उक्त क्याम्पसमा ५ सय ३१ जना मतदाता रहेका छन् । निर्वाचनमा ४ सय हाराहारीमा मतदान हुने अपेक्षा गरिएको छ ।
स्ववियु निर्वाचनमा अध्यक्ष पदका लागि तीन जना प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल विद्यार्थी संघले विपुल रोका, अनेरास्ववियुले सुशिल थापा र अनेरास्ववियु (क्रान्तिकारी) ले अनोज भूजेल सहित उनीहरुका प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।
स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्न विद्यार्थी नेताहरु विहानै देखि मतदाताहरुलाई आकर्षित गर्नमा केन्द्रीत छन् । त्यसका अतिरीक्त राजनीतिक दलका अगुवा नेता कार्यकर्ता समेतको क्याम्पस परिसरमा ठुलो भीड लागेको छ । मतदाता धेरै भएपनि नियमित क्याम्पस आउने विद्यार्थी थोरै भएकाले उक्त क्याम्पसमा कसले निर्वाचनमा जित्छ भन्ने कुरामा परिसरमा आ आफ्नै तर्क भइरहेका पाईन्छन् । यसअघीको स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा नेबिसंघले विजय हासिल गरेको थियो ।
