रामेछाप । मौसम बिग्रेपछि सोमबार रामेछापबाट लुक्लाका लागि निर्धारण गरीएका हवाई उडान हुन सकेनन् । विहानै रामेछाप विमानस्थलबाट लुक्लाको लागि उडान भरेको तारा एयर र समिट यएरका दुई जहाज हवाई रुटमा हावाको बेग तिव्र भएपछि लुक्ला तर्फको उडान डाईभर्ट गरी रामेछापनै फर्काएका थिए । ति भन्दा अघी उडेका दुई जहाज भने लुक्ला अवतरण गरेको नागरिक उडड्यन कार्यालयले जनाएको छ ।


रामेछाप नागरिक उडड्यन कार्यालयका एटिसी प्रज्वल गुरागाईका अनुसार मौसमका कारण हवाईजहाजको उडान हुन नसकेपछि सोमबार दिनभर जस्तो हेलिकप्टरले लुक्लाका लागि यात्रु ओसारेका थिए । विभिन्न कम्पनीका हेलिकप्टरले सोमबार रामेछाप – लुक्ला सेक्टरमा २२ वटा उडान मार्फत १ सय ८ जना यात्रु ओसारेका थिए । पर्यटकिय यो सिजनका लागि आईतबार देखि रामेछापबाट लुक्ला केन्द्रीत उडान हुन थालेका हुन् । आईतबार ९७ जना यात्रुले हजाज र हेलिकप्टर मार्फत लुक्ला यात्रा गरेका थिए । सोमबार भने १ सय ३८ जना यात्रुले सेवा लिएको उक्त कार्यालयले जनाएको छ ।


काठमाडौं विमानस्थलमा उडान र अवतरणका लागि धेरै समय पालो पर्खनु पर्ने भएकाले धेरै उडान गर्नुपर्ने सिजनमा रामेछाप विमानस्थलबाट लुक्लाको उडान थालिएको केहि बर्ष भएको छ । लुक्लाका लागि मारामार उडान गरेपनि निजी वायुसेवा कम्पनीहरुले जिल्लाबासीको माग बमोजिम रामेछाप–काठमाडौं–रामेछापको सेवा भने दिए अटेर गर्दै आएका छन् । डलरमा यात्रु बोक्ने हवाइ कम्पनीहरुले नेपाली पैसामा यात्रु पाएपनि उडान नगर्दा रामेछापेलीहरुले आफ्नो जिल्लामा विमानस्थल भएर पनि सेवा पाउन सकेका छैनन् ।


रामेछापमा केहि बर्ष यता निजी क्षेत्रका सीता , तारा र समिट एयरले रामेछाप विमानस्थलमानै जहाजहरु रात्री पार्किङ राखेर विहानै देखि लुक्लाको उडान गर्ने गर्छन् । उक्त उडानका लागि सडक मार्ग भएर यात्रुहरुलाई रामेछाप ल्याउन विमान कम्पनी र ट्राभल कम्पनीहरु सक्रिय छन् । लुक्लाबाट फर्कने यात्रु समेत अधिकांश यहि विमानस्थलमा ओरालेर गाडि मार्फत काठमाडौं पठाइने गरिएको छ । यो सिजन मे को दोश्रो साता सम्म रहने जनाइएको छ ।