रामेछाप । शुक्रबार देखि पश्चिमी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको जंगलमा लागेको डडेलो निभाउन नपाउदै पूर्विउत्तर रामेछापको बेतालीमा पर्ने लिसेखानी सामुदायिक बन क्षेत्रमा डडेलो सल्केको छ ।


         वस्ती नजिकैको जंगलमा सल्केको उक्त डडेलोको कारण ४।५ घर उच्च जोखिममा परेका छन् । वस्ती नजिकै सडक रहेकोले वस्ती तर्फ डडेलो आउदैन कि भन्ने आशा रहेको तर भर नभएको स्थानीयले जनाएका छन् ।


          जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले दुवै तर्फको डडेलो निभाउनका लागि सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय जुटिरहेका छन् । टोकरपुरको डडेलोे ठुलो बन क्षेत्रमा फैलिएकोले नियन्त्रण बाहिर पुगेको पौडेलले वताएका छन् । वेतालीमा उच्च सतर्कता अपनाउनका लागि निरन्तर समन्वय र सम्पर्क भईरहेको उनले वताए । शनिबार अपरान्ह देखि हावा चल्न थालेकोले डडेलो नियन्त्रण गर्न कठिनाई परिरहेको हो ।
           दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ को लालिगुँरास सामुदायिक बनमा शुक्रबार विहानै देखि लागेको डडेलो नियन्त्रयणका लागि दिनभर खटेका सुरक्षाकर्मीहरु शनिबार विहान देखि फेरी डडेलो प्रभावित क्षेत्रमा खटीरहेको तर उपलव्धि हासिल गर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाएका छन् ।


            स्थानीय लालिगुराँस सामुदायिक बनबाट डडेलो सुरु भएपछि आसपासका बासिन्दा, टोकरपुर स्थित ईलाका प्रहरी कार्यालय र दोरम्बामा रहेको नेपाली सेनाको गुल्मबाट समेत सुरक्षाकर्मी परिचालन गरी आगो नियन्त्रणको प्रयास भएको थियो ।


अव डडेलो शैलुङको बन क्षेत्र तर्फ लागेकोले बन र जंगली जनावर तथा पंक्षिहरु ठुलो मात्रामा क्षति हुने जनाइएको छ । उक्त क्षेत्रमा सयौं बर्ष पुराना ठिङ्ग्रे सल्ला, लालिगुराँस, चिमाल लगाएत अमूल्य जडिवुटी रहेका छन् । उक्त क्षेत्रमा क्यान्सरको उपचारका लागि प्रयोग हुने लौडसल्ला समेत रहेको छ ।