रामेछाप । माझीहरुको प्रमुख चाड लदी पुजा ( कोशी पुजा ) को अवसरमा मन्थली नगरपालिकाले माझी समुदायका विद्यालयमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले माझी समुदायको बसोवास रहेको र माझी समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले सोमबार जारी गरेको सार्वजनिक सूचनामा लदी पुजाको अवसरमा मन्थली नगरपालिकाको वडा नम्बर १, २, ६, ७ र ८ मा रहेका विद्यालयमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ । मन्थली नगरपालिकामा माझीहरुको उल्लेख्य वसोवास रहेको छ । माझीहरुले फागुनको तेश्रो मंगलबारका दिन धुमधामले लदी पुजा ( नदी पुजा ) गर्ने गर्दछन् ।


मन्थली नगरपालिकाका पूर्व नगर प्रमुख रमेशकुमार वस्नेतको नेतृत्वमा रहेको नगरसभाले माझीहरुको प्रमुख चाडको रुपमा रहेको लदी पूजाको अवसरमा मन्थली नगरपालिका भर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । एक बर्ष उक्त निर्णय कार्यान्वयन भएपनि उनकै बाँकी कार्यकालमा र हाल सम्म सो दिन विदा दिने चलन हटेको थियो । माझी समुदायले साविकको निर्णय र बागमति प्रदेश सरकार समेतको निर्णयको आधारमा लदी पूजाको दिन सार्वजनिक विदा दिनु पर्ने माग गर्दै केहि दिन अघी नगर प्रमुख लब श्रेष्ठलाई ज्ञापन पत्र वुझाएका थिए ।