रामेछाप । मन्थली नगरपालिकाको वडा नम्बर ३ अर्चले र वडा नम्बर ४ गैह्राथोक जोड्ने झोलुङ्गे पुलको निर्माण पुरा भएको छ । रणजोर खोला वारपार गर्नका लागि उक्त पुल निर्माण गरीएको हो ।
पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख विजयकुमार बज्राचार्यका अनुसार गैह्राथोक जोड्ने उक्त झोलुङ्घे पुल २ सय ९० मिटर लामो छ । पुल निर्माणका लागि झण्डै २ करोड ३० लाख लागेको थियो । उक्त पुल डि गौतम निर्माण सेवाबाट निर्माण भएको हो ।
रणजोर खोला वारपार गर्नका लागि सालु र गैह्राथोकका बासिन्दाले अव जोखिम मोल्नु पर्नेछैन् । यसअघी खोला तर्ने क्रममा केहिको मृत्यू भएपछि पुल निर्माणका लागि स्थानीयले माग गर्दै आएका थिए । रणजोर खोलामानै सालु र ठुलीमदौं जोड्ने मोटर पुल समेत निर्माणाधिन अवस्थामा छ । उक्त पुल समेत पूर्वाधार विकास कार्यालय मार्फत प्रदेश सरकारले निर्माण गर्न लागेको हो । पुल निर्माण पछि मन्थली बाट सालु आवतजावतका लागि थप सहज हुने जनाइएको छ ।
