रामेछाप । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने मनसायले कुलमान घिसिङ लाई उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले तेश्रो पल्ट स्पष्टिकरण सोधेकै दिन सोहि मन्त्रालयमा राज्यमन्त्री रहेका पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले भने कुलमान घिसिङलाई हटाउनु नहुने आफ्नो अडान दोहो¥याएका छन् ।


कुलमान घिसिङ काम गर्ने मान्छे हो, विद्युत प्राधिकरणलाई उसको खाँचो छ राज्यमन्त्री तामाङले भने – विना कारण हटाउन खोज्नु हुदैन् । उनले कुलमानको नेतृत्वमा नेपालमा विद्युत विकासले फड्को मारेको वताए । कुलमान काम गरीरहेका छन् र अव केहि महिना मात्र उनको कार्यकाल बाँकी छ तामाङले भने – उनको समयावधि सम्म काम गर्न दिनुपर्छ ।


तामाङले उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयबाट कुलमान घिसिङलाई हटाउका लागि मन्त्रीपरिषदमा प्रश्ताव गएको बारेमा आफुलाई जानकारी नभएको वताए । मन्त्रीले प्रश्ताव लगेको हो भने त्यो राम्रो होईन उनले भने ।


राज्यमन्त्रीले संचार माध्यममा घिसिङलाई हटाउनु नहुनेमा धारणा राखिरहेका बेला मन्त्री दिपक खड्काले भने घिसिङले संचालक समितिलाई अटेर गरेर आफु खुसी काम गरेकोमा असन्तुष्टि जनाउदै तेश्रो पटक दुई बुँदे स्पष्टिकरण सोधेका छन् । २४ घण्टा भित्र स्पष्टिकरण सोधेका मन्त्री खड्का घिसिङलाई कुनैपनि हालतमा राख्नु नहुने पक्षमा छन् ।