रामेछाप । आर्थिक बर्ष २०८१।८२ को दोेश्रो चौमासिकमा उत्कृष्ट कार्य सम्पादन गर्दै रामेछाप जिल्ला प्रशासन कार्यालय मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरुमा दोश्रो स्थान ओगटन सफल भएको छ ।


गृह मन्त्रालय संग प्रमुख जिल्ला अधिकारीहरुले गरेको कार्यसम्पादन संझौताको आधारमा गरिने मूल्यांकनमा रामेछापले मुलुकका अरु जिल्ला प्रशासन कार्यालयहरु पछि पार्दै दोश्रो भएको हो । रामेछापले २० पूर्णाङ्कमा १९ दशमलव ३७५ अंक ल्याएको थियो । रामेछाप सगैं तेह्रथुम, कास्की र स्याङ्जा जिल्लाले समेत दोश्रो स्थान ओटेका छन् । ति जिल्लाको समेत समान प्राप्ताङ्क १९ दशमलव ३७५ रहेको छ ।


मन्त्रालयले गरेको मूल्याङ्कनमा ईलाम, पश्चिम रुकुम र पाल्पा जिल्लाले उत्कृष्ट अंक ल्याएर प्रथम स्थान ओगटेका छन् । उक्त तीनै जिल्लाको समान अंक १९ दशमलव ५ रहेको छ । कार्यसम्पादन मूल्याङ्कनमा पर्वत , बाग्लुङ र मनाङ जिल्लाले तेश्रो स्थान प्राप्त गरेका छन् । ति जिल्लाहरुले १९ दशमलव २५ अंक प्राप्त गरेका छन् ।


रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने नागरिकले छिटो सेवा प्राप्त गरेका र कार्यालयले सम्पादन गर्नुपर्ने अन्य धेरै विषयहरुमा समेतमा देखिएका कार्यकुशलताका कारण जिल्लाले दोश्रो स्थान ओगटन सफल भएको जनाएका छन् ।