रामेछाप । तामाङहरुको उल्लेख्य बसोवास रहेको रामेछापमा विहिबार मञ्जुश्री संवत २८६१ (ढुल ल्हो ) को अवसरमा सोनाम ल्होछार पर्व हर्षोल्लास पूर्वक मनाइएको छ । रामेछापका विभिन्न स्थानमा बेल्ला बेग्लै कार्यक्रमको आयोजना गरी तामाङ समूदायका अगुवाहरुले नयाँ बर्षको स्वागत गरे । कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरीएका छन् ।


जिल्ला सदरमुकाममा तामाङ भेषभुषा लगाएर नगर परिक्रमा पश्चात जिल्ला समन्वय समितिको चौरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरीएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ तथा तामाङ समुदायका अगुवाहरुले नयाँ बर्षको शुभकामना दिएका थिए । कार्यक्रम नेपाल तामाङ घेदुङका अध्यक्ष लिला तामाङको अध्यक्षतामा भएको थियो ।


त्यसैगरी रामेछाप नगरपालिका ५ रामपुरमा तामाङ समाजले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ र संविधानसभा सदस्य तारा नारायण श्रेष्ठ लगाएतले ल्होसारको शुभकामना दिएका थिए । तामाङहरुको बाहुल्य रहेको पच्चिमी रामेछापको दोरम्बा शैलुङ र सुनपाति गाउँपालिकामा समेत ल्होसारको अवसरमा विविध कार्यक्रम संचालन भएको जनाईको छ ।