रामेछाप । रामेछापका स्थानीय निकायले अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस गर्न थालेका छन् । आईतबार देखि उक्त सेवा सुरु भएको हो ।

      नागरिकताको अभिलेख व्यवस्थापनलाई थप चुस्त व्यवस्थापन र प्रविधिमैत्री बनाउने उद्देश्यले नागरिकता प्रमाणपत्रको लागि अनलाईन सिफारिस सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले वताएका छन् ।

       मन्थली नगरपालिका–८ चिसापानीका अध्यक्ष गोपाल श्रेष्ठले जिल्लामा पहिलो पटक अनलाईन प्रणालीबाट अनुसुची सिफारीस गरी नागरिकता जारी गर्न जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । सोहि सिफारिसका आधारमा मन्थली ८ का विवेक खत्रीले रामेछापको पहिलो नागरिकता पाएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकता प्रमाणपत्र उपलव्ध गराएका थिए ।
       गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरूबाट अनलाइन सिफारिस गर्ने व्यवस्था कार्यान्वयनको क्रममा चिसापानीबाट सो कार्यको सुरुवात गरिएको र अन्य वडाहरूबाट उक्त प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने कार्य थालनी हुने प्रजिअ पौडेलले वताएका छन् ।