रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनका क्रममा रामेछापमा भोली संघीय महाधिवेशन प्रतिनिधिहरुको ३२ वटा पदका लागि हुने निर्वाचनका लागि १ सय ८ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्वाचन समितिको कार्यालयले प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावलीमा खुल्ला र विभिन्न विषयगत समूहबाट ति उम्मेदवारहरु केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार कायम भएका छन् ।
समितिका अनुसार खुला महिला तर्फको ४ वटा कोटामा ११ जना, खुला तर्फको पुरुष १० वटा कोटामा ३८ जना, श्रमिक तर्फको १ कोटामा ४ जना, पेशागत १ कोटामा ३ जना, युवा महिला १ कोटामा ३ जना, युवा खुला २ कोटामा ६ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसैगरी अपाङ्ग १ कोटामा ४ जना, अल्पसंख्यक १ कोटामा ४ जना, दलित १ कोटामा २ जना, प्रजातान्त्रिक सेनानी १ कोटामा ५ जनाको उम्मेदवारी परेको छ । समानुपातिक तर्फको आदिवासी जनजातिको ३ कोटामा १४ जना, समानुपातिक जनजाति महिलाको ३ कोटामा ६ जना, समानुपातिक खसआर्यको २ कोटामा ६ जना र समानुपातिक खसआर्य महिलाको १ कोटामा २ जनाको उम्मेदवारी परेको छ ।
समानुपातिक दलित १ मा निर्बिरोध
समानुपातिक तर्फको दलित १ कोटामा मुक्तवहादुर महते निर्बिरोध निर्बाचित भएका छन् । महाधिवेश प्रतिनिधिका लागि हुने ३३ वटा सिटको निर्वाचनमा अव ३२ वटा सिटमा मात्र निर्वाचन हुने छ ।
निर्वाचन समितिको कार्यालयले मंगलबार विहान ६ बजे देखि बेलुका ६ बजे सम्म मतदान कार्यक्रम राखेको छ । जिल्ला समन्वय समितिको परिसरमा हुने निर्वाचन पछि मंगलबार बेलुका देखिनै मतगणना गर्ने तयारी छ ।
निर्वाचन समितिले प्रदेश सभा क र ख को पदाधिकारी र प्र्रदेश स्तरको महाधिवेशन प्रतिनिधि समेतको निर्वाचन पनि सगसगैं गर्ने गरी सवै तयारी पुरा गरेको छ । उक्त निर्वाचनमा पनि उल्लेख्य उम्मेदवारी परेको छ ।
काँग्रेसमय चोक र प्रचार
नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा आफ्ना प्रतिनिधि छान्नका लागि जिल्लाभरका १ हजार ८ सय भन्दा बढी नेता तथा क्षेत्रीय प्रतिनिधिहरु मन्थलीमा भेला हुन थालेका छन् । सोमबार साँझ सम्म अधिकांश प्रतिनिधिहरु मन्थली आईपुगि सेकेका छन् । मन्थली आसपासका मतदाताहरु भने मंगलबार आउने छन् ।

मन्थली आईपुगेका काँग्रेस नेता तथा कार्यकर्ताहरुले मन्थलीका सडक, चोक, चिया पसल र होटलहरु खचाखच भएका छन् । अहिले राती साँढे ९ बजे सम्म पनि काँग्रेसका धेरै कार्यकर्ताहरु सडकमै भोट मागिरहेका भेटिन्छन् । साना देखि ठुलो व्यानर , हाते पर्चा र उम्मेदवार पहिचान कार्ड लिएर भोट माग्दै गरेका उम्मेदवार देखि प्रचारकहरु आजै देखि खटिरहेका छन् ।
