रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा महाधिवेशन लगाएतका प्रतिनिधि छनौटका लागि रामेछाप जिल्लामा आज मतदाता नामावली प्रकाशन देखि उम्मेदवारी दर्ता सम्म कार्य अघी बढाईने भएको छ ।
संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि भोली निर्वाचन गर्ने तालिका छ । त्यसका लागि आजनै उम्मेदवारी दर्ता गरी प्रचार प्रसारको समय दिन लागिएको हो । असोज १० का लागि तोकिएको उक्त कार्य बर्षाको कारण दुई दिन पछि सरेको हो ।

जिल्ला निर्वाचन समिति रामेछापले अहिले विहान ७ बजे मतदाताको नाम प्रकाशन गर्नेछ भने अपरान्ह साँढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । समितिले भोली विहान ६ बजे देखि बेलुका ६ बजे सम्म मतदान गर्ने तालिका सार्वजनिक गरेको छ । रामेछापमा काँग्रेसका वडाबाट छानिएका झण्डै १ हजार ८ सय मतदाताले आफ्ना प्रतिनिधिको छनौट मतदान मार्फत गर्दैछन् ।
निर्वाचन नजिकिदै जाँदा विभिन्न शक्ति समूहहरुले आफ्नो समूहमा धेरै धेरै क्षेत्र भूगोल लगाएतका कुरामा ध्यान दिएर उम्मेदवारहरुको सूचि बनाएर प्यानल बनाई मतदाताको माझ जाने प्रयत्न गरीरहेका छन् । यो महाधिवेशनमा युवाहरुले नेतृत्व लिनका लागि उल्लेख्य मात्रामा उम्मेदवारी रहने घोषणा गर्दै दुई दिन अघीनै प्रचार थालेका छन् ।
