रामेछाप । चोरीको सुन खरिद गरेको अभियोगमा मन्थली बाट प्रहरीले थप दुई जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघी बढाएको छ ।
मन्थलीमा दीपलक्ष्मी सुनचाँदी पसलका संचालक डिलवहादुर रसाईली र सुविना सुनचाँदी पसलकी संचालिका निशा विश्वकर्मालाई चोरी गरेको सुनको गहना खरिद गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
केहि दिन अघी ठोसे घर भएकी मैया कार्कीलाई सुन चोरी गरी विक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । कार्कीले चोरी गरेको सुन खरिद गरेका मन्थलीका सुन व्यवसायी सीताराम लोहार समेत पक्राउ परेका थिए । कार्की हाल सम्मै प्रहरीको हिरासतमा छिन् भने लोहार भने ४ दिनमै हाजिर जमानीमा हिरासत मुक्त भएका छन् ।

कार्कीको बयानको क्रममा मन्थलीका थप सुनचाँदी पसलमा आफुले चोरी गरेको सुन विक्री गरेको खुलेपछि पिडितबाट जाहेरी लिई उक्त दुई जना सुनचाँदी व्यवसायीलाई पक्राउ गरी अनुसन्धान अघी बढाएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु माथि अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको समेत जनाएको छ ।
