रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनका क्रममा असोज ३ र ४ गते तोकिएको वडा अधिवेशन रामेछाप जिल्लामा उल्लासपूर्ण रुपमा सकिएका छन् ।

वडा अधिवेशनमा उपस्थित नहुनका लागि सामाजिक सञ्जाल र प्रत्यक्ष फोन गरेर ईतर पक्षका केहि नेता तथा कार्यकताले क्रियासील सदस्यहरुका लागि दवाव दिएका थिए । तर कार्यकर्ताहरुले उक्त दवावको कुनै पर्वाह नगरी पार्टीको संस्थापन पक्षले सार्वजनिक गरेको महाधिवेशन तालिका अनुसार वडा अधिवेशनमा उपस्थिति भएर आफु र आफ्ना प्रतिनिधि छानेका छन् । जिल्लाका प्राय सम्पूर्ण वडामा वडा सभापति, पदाधिकारी र सदस्य तथा माथिल्लो तहमा उम्मेदवार हुन र मतदान गर्नका लागि क्षेत्रीय प्रतिनिधित्व गर्नका लागि प्रतिनिधिहरुको चयन भएको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।

नेपाली काँग्रेसको सुनापति गाउँपालिका २ का वडा सभापति लगाएत ३ जनाले आईतबार सूचना जारी गरेर वडा अधिवेशनमा भाग लिन नसक्ने जानकारी गराएका बाहेक अन्यत्र त्यस्तो कुनै पनि सूचना आधिकारिक रुपमा नआएको जिल्ला समितिका पदाधिकारीहरुले जानकारी दिएका छन् । दिमीपाेखरीमा भेला भएका ३ जना प्रतिनिधि बाहेकका अन्य सदस्यहरुले अधिवेशन गरेर प्रतिनिधि चयन गरेका छन् । 

रामेछाप जिल्लामा १५ महाधिवेशनका लागि तोकिएका निर्वाचन अधिकारी रौनिक राज अर्यालले रामेछाप जिल्लामा सौहार्द रुपमा वडा अधिवेशन सम्पन्न भएको जानकारी आएको वताएका छन् । उनले वडा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरुको नाम आईतबारनै निर्वाचन अधिकृतलाई बुझाउन भनिएको तर भौगौलिक बिकटताका कारण साँझ अवेर सम्म झण्डै आधा वडा बाट नाम आउन बाँकी रहेको वताए । अधिवेशन सम्पन्न भएको खवर र प्रतिनिधिहरुको नामका बारेमा संचार सम्पर्क कायम भइसकेको तर हार्डकपि आउने क्रममा रहेको अर्यालले वताए ।

रामेछाप जिल्लाका ६४ वटा वडा बाट करिव १ हजार ८ सय प्रतिनिधिहरु काँग्रेसको अन्य तहका निर्वाचनका लागि प्रतिनिधि छनौट भएर आउने समेत अर्यालले वताए ।