रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा पहिलो पटक व्यवसायीका प्रतिनिधि र बैंकर्शहरुका विच समसामयिक विषयमा अन्तरक्रिया गरिएको छ । बिहिबार रामेछाप उद्योग वाणिज्य संघमा आयोजना भएको उक्त अन्तरक्रिया कार्यक्रममा जिल्ला सदरमुकाममा रहेका विभिन्न बैंकका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायी तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूबीच पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दि, व्यवसायीले भोगिरहेका वित्तीय समस्या, बैंक तथा वित्तिय संस्थाबाट जारी हुने कर्जा प्रवाह, कर्जामा तोकिएको ब्याजदर, सेवा प्रवाह, डिजिटल बैंकिङ सेवा तथा सर्वसाधारण तथा व्यवसायीहरुको वित्तीय पहुँचका साथै सामाजिक उत्तरदायित्वका सन्दर्भमा छलफल भएको थियो ।

रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले उद्योग तथा व्यापारमा लगानीका लागि बंैकहरुले सहज कर्जा प्रवाह गर्नुपर्ने, व्यवसायमैत्री बैंकिङ सेवा संचालनका लागि विभिन्न प्रक्रियागत झन्झटहरुलाई सरलिकृत गर्नुपर्ने र स्थानीय उद्यमीलाई प्राथमिकतामा राखी लगानी बढाउनु पर्ने धारणा राखेका थिए । बैंकहरुका शाखा प्रमुख तथा प्रतिनिधिहरूले व्यवसायीका सुझावहरुलाई सकारात्मक रूपमा लिँदै हाल उपलव्ध वित्तिय सेवाप्रवाहलाई थप प्रभावकारी, सहज र व्यवसायी तथा ग्राहक मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीच आपसी सहकार्य र विश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको वताए । उनले यस प्रकारको छलफलले भोलीका दिनमा बैंकको सेवा प्रभावकारी हुने र व्यवसायीहरुले समेत सहज सेवा प्राप्त गर्न सक्ने वातावरणको श्रृजना हुने बताउँदै आगामी दिनमा संवाद र सहकार्यलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, कुमारी बैंक, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक, एनएमबि बैंक, प्रभु बैक, ग्लोबल आईएमई बैंक, एनआईसि एसिया बैंक, लक्ष्मी सनराईज बैंक, साग्रिला विकास बैंक र मुक्तिनाथ विकास बैंकका शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायी तथा संघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।