रामेछाप । दिलवहादुर अछामी पेशाले शिक्षक हुन् । रामेछापको मन्थली नगरपालिकाको रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक अछामी आफ्नो पहिचान अहिले शिक्षक भन्दा पनि अब्बल कृषकको रुपमा गराइरहेका छन् । रामेछापमा औशत शिक्षक बग्रेल्ति छन् तर अब्बल कृषक थोरै । त्यहि थोरै सफल किसानमा उनले आफ्नो नाम दर्ज गराएका छन् ।
कृषि सम्बन्धि हाल सम्म कुनै तालिम नलिएपनि अछामीमा एक पटक हैन, पटक पटक तालिम लिएका कृषकहरु भन्दा थोरै ज्ञान छैन् । मौरीपालन होस या ग्रागनखेतिमा उनले तालिम नलिएको भएपनि अरु भन्दा राम्रो नतिजा निकालेर देखाएका छन् ।
मन्थली नगरपालिका ७ साबिक भटौलीको दक्षिण फर्केको पाखोमा पर्ने अछामीकोे जग्गा केहि बर्ष अघी सम्म खोरियाको रुपमै थियो । खोलाको बगर छेउको जग्गाको त्यति स्याहार र महत्व थिएन् । तीन बर्ष अघी देखि भने त्यहि खोरियाको दिन फर्केका छन् । खोलाले कटान गरेको जग्गा उकास गर्दै अछामीले त्याहाँ सुन फलाउने जमर्को गरेका थिए, नभन्दै खोरियाले लाभ मात्र दिएको छैन् उनको पहिचान पनि बदल्दै लगेको छ ।

खोरिया बारीका दुईटा पाटामा अछामीले तीन बर्ष अघी ड्रागन घुसारे । सिमेन्टको पोल बनाएर आफ्नै तरिकाले गरिएको उक्त खेतिले दुई बर्ष अघी देखि उनलाई गोजीमा पैसा फर्काउन थाल्यो । ‘यो खेतिका लागि करिव ५ लाख जति लगानी भयो होला’ अछामी भन्दछन् – यो बर्ष सवै लगानी उठीसक्छ । पुननपुग एक रोपनी जग्गामा अछामीले लगाएका ड्रागनका झाँगमा हल्हल्ति सप्रेका हाँगामा बग्रेल्ति दाना झुण्डिएका छन् ।
लगाएको एक बर्षमा उनले ड्रागन बेचेर ७० हजार कमाए । गत बर्ष ३ लाख जतिको बेचे । अनि यो बर्ष झण्डै ४ लाखको बेच्ने उनको योजना छ । उनको योजनालाई सफल बनाउनका लागि ड्रागनमा फल पनि असाध्यै राम्रो लागेको छ । मल पानी र गोडमेलमा ध्यान दिएकोले उनले गरेको खेतिमा राम्रो फल लागेको छ ।
एक सय वटा पोलमा उनले गरेको ड्रागन खेतिमा उनकी श्रमतिले पनि उत्तिकै श्रम पोखेकी छिन् । पति पढाउनका लागि विद्यालयमा जादाँ पत्नि एक्लै बारीमा गोडमेल र मल पानीमा व्यस्त हुन्छिन् । हुने विरुवाको चिल्लो पात भनेझै उनीहरुका स–सना छोराछोरी पनि अहिले त्यहि खेतिको स्याहार सुसारमा अध्ययन गरेर बचेको समय खर्चिन थालेका छन् ।
अछामी ड्रागन खेतिमा मात्र सिमित छैनन् । कागति, विभिन्न जातका र महंगो कहलिएका विदेशी आँप, अनार, भई कटहर, अम्बा उनको बगैंचामा थुप्रै छन् । ड्रागनको भित्री बालीको रुपमा उनले भुई कटहर लगाएका छन् । जुन असाध्ये रसिलो र स्वादिलो रहेको छ ।
अछामीले लगाएका फलफुल बिक्रीका लागि बजारको कुनै चिन्ता छैन् । मन्थलीमा धेरैले उनको उत्पादन खोजिरहेकै छन् । गुणस्तर भएकाले प्रति केजि ३ सय रुपैयाँमा उनले उत्पादन गरेको ड्रागन बिक्री भइरहेको छ । महंगो खालको आँप केहि बर्ष पछि देखि प्रशस्तै आउने देखिएको अछामिले त्यसबाट पनि मनग्यै आर्जन गर्ने सोच बनाएका छन् ।

