रामेछाप । रामेछापको दक्षिणी भागमा पर्ने सुनकोशी किनारको विर्ताटारमा यति बेला लाखौंको ड्रागनफ्रुड तयार भएको छ । नदिको छेउमै व्यवसायीक रुपमा लगाएको ड्रागनफ्रुड गत बर्ष देखि बजारमा जान थालेको हो । गत बर्षको भन्दा यस बर्ष धेरै उत्पादन हुदैछ ।
नेपाली काँग्रेसमा लागेर लामो समय देखि रामेछापको राजनीतिमा सक्रिय नेता युवराज भट्टराईले तीन बर्ष अघी रामेछाप नगरपालिका ७ मा पर्ने विर्ताटारको आफ्नो जग्गामा ड्रागनफ्रुड घुसारेका थिए । केहि बर्ष अघी देखि हिउँदे गेडागुडि लगाउदै आएको उक्त जग्गामा उनले नगदे बालीको रुपमा ड्रागनफ्रुड लगाउने भनेर अध्ययन थाले र त्यसका लागि लाखौंको लगानी गर्ने सोँच बनाए । धेरै अध्ययन पछि विभिन्न जिल्लाबाट उनले ड्रागनफ्रुडका विरुवा ल्याएर बिर्ताटारको जग्गामा लगाएका हुन् ।
‘मैले २ बर्ष अघी लगाएको बिरुवा गत बर्ष देखि फलेको छ, गत बर्ष लगाएको विरुवा चाँहि कुनै कुनैमा फल लागेको छ, आउदो सिजनमा सवै विरुवा फल्छ’ भट्टराईले भने । उनले विर्ताटारको फार्ममा पुग्ने र वाहिरको वजारमा प्रतिकेजि ३ सय देखि ३ सय ५० रुपैँया सम्ममा ड्रागनफ्रुड बिक्री भइरहेको वताएका छन् । ड्रागनफ्रुड बजारमा विक्री नहोला कि भन्ने पिरलो हाल सम्म छैन् ।

सुनकोशीले सदियौं बर्ष अघी बहाव छोडेको दक्षिणी रामेछापको ठुलो फाँटमा पर्ने विर्ताटार केहि बर्ष अघी सम्म सुख्खा थियो । बर्षायाममा एक बालि लगाएर त्याहाका किसानहरु अर्को बाली लगाउन छिमेकी जिल्ला सिन्धुलीको ग्वालटार तिरको फाँटमा पुग्थे । तर अव त्यहि सुख्खा फाँटमा अव ग्बालटारमा भन्दा पनि धेरे आयआर्जन गर्ने बाली लाग्न थालेका छन् । विर्ताको अघी अव ग्वालटार विर्सन लागिएको छ । मध्यपहाडि राजमार्ग सगैं जोडिएको उक्त फाँटमा सुनकोशीको पानी लिफ्ट गरेर सिंचाईको प्रबन्ध समेत भएको छ ।
मलपानी पुग्यो भने एउटा पोलमा बार्षिक सरदर २५ केजि सम्म ड्रागनफ्रुड उत्पादन हुने जनाइएको छ । विर्ताटारमा भट्टाराईले १ हजार ७ सय पोलमा ड्रागन रोपेका छन् । एउटा पोलमा ४ वटा विरुवा छन् । उक्त विरुवामा मल पानी पुग्यो भने बार्षिक सरदर १ करोड ५० लाख रुपैयाँ आर्जन हुने देखिएको छ । मन्थलीको फलफुल बजारमा प्रतिकेजि ४ सयका दरले ड्रागनफ्रुड खरिद विक्री भइरहेको छ ।

ड्रागनफ्रुड खेतिका लागि भट्टराईले आफ्नो जग्गामा घेराबारा, पोल निर्माण, विरुवा खरिद र लगाउने कार्य, टायर खरिद, मल खरिद लगाएतमा हाल सम्म ४५ लाख खर्च लागेको वताएका छन् । ‘हाल सम्म ४५ लाख खर्च लागेको छ, आउने बर्ष मेरो लगानी उठ्छ’ भट्टराईले भने ।
धेरै पानी, धेरै खडेरी र फङ्गस भन्ने रोग बाट बचाउन सकियो भने ड्रागनफ्रुडले राम्रो फल दिन्छ । उनको फार्ममा रहेको ड्रागनमा एउटै दाना झण्डै आधा केजि तौल सम्मको फलेको छ । उनले हरेक विरुवामा थोपा सिंचाई पु¥याएका छन् भने बेला बेलामा गोडमेल गरेर विरुवालाई मल दिइरहेका छन् । मल पानी मात्र नभै रोग लागेको हाँगा निकाल्ने, औषधि गर्ने अनि काँटछाँट मुख्य कुरा रहेको उनले वताए । ‘जति हाँगा हालेको छ, सवै राख्न थालियो भने उत्पादनमा असर पर्छ ’ भट्टराईले भने – हाँगाहरु काँटछाँट मुख्यतया मिलाउनुपर्ने रहेछ ।बिर्ताटारको उक्त फार्म रामेछापको सबैभन्दा ठुलो ड्रागनफ्रुड फार्म हो । जिल्लाका अरु धेरै स्थानमा ड्रागनफ्रुड लगाउने किसान छन् तर तिनमा यति धेरै परिमाणमा विरुवा छैनन् । एक पटक लगाएपछि न्यूनतम ३० बर्ष सम्म फल दिने उक्त विरुवाले किसानलाई पछिल्लो समय लोभ्याइरहेको छ ।

