काठमाडौं । नेपाली काँग्रेसले क्रियाशिल सदस्यको अद्यावधिक गर्ने समयाबधि थप गरेको छ । जेठ २१ गते भित्र सदस्यता अद्यावधिक गर्ने गरी पूर्व निर्धारित अवधिलाई अव जेठ २८ गते मध्यरात सम्म लम्वाइएको हो ।

क्रियाशिल सदस्यता अद्यावधिक गर्ने क्रम सुरुका दिनमा त्यति उत्साहप्रद नभएको काँग्रेसमा पछिल्ला दिनहरुमा व्यापक उत्साह देखिएकोले पन्ध्रौ महाधिवेशनका लागि यसअघी तयार गरी केन्द्रमा पठाइएका पुराना सदस्यलाई अद्यावधिक गर्ने र नयाँ क्रियाशिल सदस्य थप गर्ने गरी समय बढाइएको हो । बढाइएको समयलाई अन्तिम पटक भनिएको छ ।

यसैबिच नेपाली काँग्रेसका शिर्ष नेताहरुको सदस्यता स्वतः अद्यावधिक गर्ने निर्णय पनि काँग्रेसले गरेको छ । विषेश महाधिवेशन बाहेकका पक्षधरहरुले सदस्यता अद्यावधिक गर्नका लागि आनाकानी गरीरहेका बेला काँग्रेसले उक्त निर्णय गरेको हो । तत्कालिन सभापति शेरवहादुर देउवा पक्षले गगनकुमार थापा नेतृत्वले गरेको विषेश महाधिवेशनलाई अझै पनि भेलाको रुपमा लिएको र १५ औं महाधिवेशनका लागि पुरानै सदस्यतालाई मानेर जानु पर्ने कुरामा जोड दिदै आएको छ । उक्त पक्षले विभिन्न स्थानमा भेला र बैठकको आयोजना गरिरहेको बेला संस्थापन पक्ष भने महाधिवेशनको मिति तय गरेर अघी बढीसकेको छ ।