रामेछाप । रामेछापको लिखु तामाकोशी ५ को धोविमा लाग्ने साप्ताहिक हाट बजारको अव धुकधुकी मात्र बाँकी छ । हाट बजारमा सामान किन्न र बेच्नका लागि बुधबार धोवि बजारमा खचाखच हुनेको भिड स्थानीयको स्मृतिमा मात्र बाँकी छ ।
पछिल्ला बर्षहरुमा थोरै सामान अनि थोरै मानिस धोविमा हाट लाग्ने र बन्द हुने समयको धेरैले चालै पाउदैनन् । बन्दै भएको छैन् तर हाट बजार जस्तो पनि छैन् । मधेश र स्थानीय व्यवसायीले ल्याउने कपडा र फेन्सी सामान दिनभरी फिजाए पनि किन्ने मानिसको खासै चाप देखिदैन् ।
‘यस्तो थियो र हाट’ स्थानीय मिरा तामाङ भन्छिन् – हाटमा पाईलो राख्ने ठाउँ हुदैनथ्यो । रामेछापबाट मात्र हैन, ओखलढुंगाको पश्चिमी भेगका बासिन्दाहरु सामान किन्न बेच्न धोविमा आईपुग्थे । स्थानीय उत्पादनहरु विक्री गर्ने थलो यहि एउटा हाट बजारनै थियो । अन्त बजार थिएन । धोवि आसपासको मात्र हैन, जिल्लाकै प्रमुख हाटबजारको रुपमा कहलिएको थियो ।

अव दिन फेरीए , कसैको करेसाबारीको एकघरी केरा पाक्यो भने अहिले गाउँमानै विक्री हुन्छ, गाउँकै बजारमा अर्गानिक सामानको माग उच्च छ, हाटमा हम्मेसी आउनै पाउदैन् । वजार केन्द्रहरु गाउँका विभिन्न भागमा बनीरहेका छ्रन् । चिया पसल र खाद्यान्न सामान विक्री गर्ने पसल गाउँ टोलमा थपिदा छन् ।
कल्लेरी, चित्रे, काङ्वा, भितरी, चिलाउने र नागदहका विभिन्न भागमा उत्पादन भएका धेर थोर सामान धोविको हाटमा आईपुग्छन् । बजार लाग्ने थलोमा भन्दा पनि गाडि गुड्ने सडककै किनारमा थुचुक्क बसेर फिजाउन नपाउदै त्यस्ता सामान विक्री भैहाल्छन्, ३० मिटर तलको हाट झर्ने पर्दैन् । यो सिजनमा खुर्पानी, काफल, चिउरी, केरा जस्ता फलफुल र हरियो तरकारी त्यसैपनि बजारमा विक्री भईहाल्छ । हाटमा किन्ने पनि बजारकानै हुन् । टाढाका बासिन्दा त्यस्तो सामान किन्न धोवि आउनै छोडे । गाउँ टोलमै गाडिले बोकेर लगेका सामानहरुमा उनीहरु निर्भर छन् । बाहिरबाट आएका सामान अर्गानिक भने पनि पत्याउने ठाउँ छैन्, नकिनी भाको पनि छैन् ।
धोविको हाट सामान किन्न बेच्न मात्र हैन, स्थानीयको भेटघाट र रमाईलो गर्ने थलो पनि थियो । प्रहरी प्रशासनको आँखा छलेर निगार संग बंगुरको मासु खादै दिन विताएका बुढापाका ति दिन सम्झन्छन् मात्र । स्थानीय बाबुराम लामा भन्छन् – पहिले त हाटमै बंगुर काटेर त्यहि मासु पकाउथे, त्यहि खानेको लाईन हुन्थ्यो । हाटबजार नजिकैको धोवि बजारमा केहि बर्ष अघी सम्म हाटको दिन शान्ति सुरक्षाको कुरानै मुख्य चुनौति हुन्थ्यो । दिनभर खाने अनि साँझपख झैझगडा गर्ने कुरा सामान्य झै लाग्थ्यो धोविमा ।

आजभोली धोविमा हाट लाग्ने दिन बुधबार पनि अरु दिनको भन्दा धेरै चहलपहल हुदैन् । बजारको बिच बाट गाडि गुड्छन्, यात्रु चढ्छन् झर्छन् । केहि होटलहरुले गाउँपाकिलाका कर्मचारी र सरकारी काम लिएर आउने पालिकाका स्थानीयका लागि चियाचमेना दिन भ्याएका छन् । पहिले साना घर भएको जिल्लाको प्रमुख व्यापारिक गौंडो धोवि अहिले शहरको झल्को दिने गरी पक्की घरले फेरिदै गाउँको सम्झनालाई मेट्दै छ ।
