रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकालाई मंगलबार देखि पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ । यो सगैं रामेछाप जिल्लाका ६ वटा पालिका पूर्णखोपयुक्त पालिका घोषणा भएका छन् ।
धोविमा मंगलबार आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की र बरिष्ट जनस्वास्थ्य अधिकृत विभुकुमार झा ले उक्त पालिकालाई पूर्ण खोपयुक्त पालिकाको प्रमाण पत्र प्रदान गरेका छन् ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख किशोरी साहका अनुसार पालिकामा रहेका १५ महिना सम्मका १ सय ४८ जना, १६ महिना देखि २३ महिना सम्मका १ सय ६८ जना र २४ महिना देखि ५९ महिना सम्मका ४ सय ४७ जना बालबालिकाहरुलाई खोप सूनिश्चित भएको छ ।
कार्यक्रममा गाउँपालिकाबाट अव जन्मने बालबालिकाहरुलाई पनि नियमित खोप लगाउने प्रतिवद्धता प्रकट गरिएको थियो । पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गर्ने अवस्थामा योगदान गर्ने ७७ जना महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यचौकीका ईन्चार्ज, वडा खोप समन्वय समिति लगाएतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्की, उपप्रमुख प्रेमवहादुर थापा, लिखु तामाकोशी गाउँपालिकाका प्रमुख केशव महत, जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झा लगाएतले आ आफ्ना धारणा राखेका थिए ।
