रामेछाप । रामेछापमा नेपाली काँग्रेसको सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रुपमा भईरहेको छ । यहि जेठ २१ गते सम्म सदस्यता अद्यावधिक गर्ने समयसिमा छ ।
रामेछाप काँग्रेसले जेठ ९ गते देखि जिल्लाका सबै स्थानीय तहमा क्रियाशिल सदस्यता अद्यावधिक गर्ने कार्य थालेको हो । कार्यबाहक जिल्ला सभापति नबराज थोकरको अध्यक्षतामा भएको जिल्ला स्तरिय भेलाबाट सदस्यता अद्यावधिक गर्ने कार्यका लागि विभिन्न पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी प्रदान गरी अभियान थालिएको थियो ।
‘सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक छ’ शनिबार टेलिफोनमा कुरा गर्दै कार्यबाहक जिल्ला सभापति नबराज थोकरले भने – रामेछाप जिल्लाका २ वटा नगरपालिका र ६ वटै गाउँपालिका सबै वडामा रहेका क्रियाशिल सदस्यहरुले डिजिटल फर्ममा आफ्नो सदस्यता अद्यावधिक गरिरहनु भएकोछ । सदस्यता अद्यावधिक गर्ने कार्यमा वडा सभापतिको भूमिका प्रमुख रहने गरेको छ ।
काँग्रेसको १५ औं महाधिवेशनका लागि रामेछाप जिल्लामा ९ हजार ७ सय भन्दा बढी सदस्यहरुले क्रियाशिल सदस्यता लिएका थिए । उनीहरुको विवरण यसअघी डिजिटल फर्ममा थिएन । जिल्ला कार्यसमितिका उपसभापति लेखवहादुर कार्कीका अनुसार अहिले तिनै सदस्यहरुलाई अद्यावधिक गरी डिजिटल बनाउन थालिएको हो ।

काँग्रेसमा विषेश महाधिवेशनलाई अबैध मान्ने र सदस्यता अद्यावधिक गर्ने कार्यलाई रोक्न माग गर्ने एउटा समूह सक्रिय रहेको भएपनि रामेछापमा त्यसको प्रभाव ज्यादै न्यून रहेको जनाइएको छ । निवर्तमान जिल्ला सभापति लबश्री न्यौपानेले प्रजातन्त्रमा नेपाली काँग्रेसको त्याग र योगदानको कदर गर्ने जो कोहिले पनि चारतारे झण्डा र रुखको छाहारी नछोड्ने भएकाले अरु हल्लाको पछि नलाग्ने बताए । उनले यसअघीकै हाराहारीमा जिल्लाका क्रियाशिल सदस्यहरुको संख्या पुग्ने आशा व्यक्त गरे । ‘हामीले पहिलेकै संख्यामा क्रियाशिल अद्यावधिक गर्नेछौं ’ न्यौपानेले भने । पूर्व जिल्ला सभापति तथा नेता रामचन्द्र खड्काले काँग्रेसको अभियानले सदस्यता अद्यावधिक मात्र हैन् शुद्धिकरण पनि हुने वताउदै अभियानमा उत्साहजनक सहभागिता रहेको वताए ।
नेपाली काँग्रेसले प्रयोगमा ल्याएको डिजिटल फर्ममा क्रियाशिल सदस्यको सम्पूर्ण विवरणहरु समावेश गरीएका छन् । उक्त विवरणमा काँग्रेस र विभिन्न भातृ संस्थामा लिएको जिम्मेवारी तथा अवधि, जेलनेल र यातना भोगेको लगाएतका विवरण समेत अद्यावधिक हुने जनाइएको छ ।
