रामेछाप । विरामीको चाप अत्याधिक रहेको मन्थलीमा गुणस्तरिय स्वास्थ्य सेवा र विषेशज्ञ चिकित्सकको अभाव रहदै आएकोले प्रादेशिक अस्पतालको माग हुन थालेको छ ।
भौतिक पूर्वाधारको विकास भएपनि अस्पताल हाल सम्म नगरपालिका स्तरको मात्र छ । नगरपालिकाको तहको अस्पतालमा विषेशज्ञ चिकित्सक लगाएतका स्वास्थ्यकर्मीको दरवन्दी हुदैन् । न्यून स्थायी दरवन्दीमा स्वास्थ्यकर्मी रहने अस्पतालमा विरामीको चाप धान्न नसकेर मन्थली नगरपालिकाले बार्षिक करोडौं रुपैयाँ खर्चनु परेको छ ।
मन्थली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने गरी बागमति प्रदेश सरकारले २ बर्ष अघीनै निर्णय गरेको थियो । तर उक्त निर्णय कार्यान्वयनमा आएन । आर्थिक मामिला तथा योजना मन्त्रालयले अस्पताल स्वीकृत गर्ने निर्णय कार्यान्वयन गर्नका लागि बजेट अभाव देखाएको थियो ।
बागमति प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले विरामीको चाप अत्याधिक रहेको रामेछापको मन्थली अस्पताललाई तत्कालै प्रादेशिक अस्पतालको रुपमा विकास गर्न माग गरेका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा बोल्दै उनले जुनसुकै सर्तमा भएपनि अस्पतालको विकास आवश्यक रहेको वताए ।
‘नीति विधि के मिलाउनुु पर्ने हो, मिलाउने थलो यहि हो’ श्रेष्ठले भने – जसरी हुन्छ, प्रादेशिक अस्पताल चाहियो । उनले मन्थली अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास नगर्ने हो भने रामेछापका सबै ५ जना सांसदहरुले संसद चल्न नदिने चेतावनी समेत दिए ।
साविकको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई विकास गर्दै मन्थली नगरपालिकाले नगर अस्पतालको रुपमा उक्त अस्पताल संचालन गर्दै आएको छ । उक्त अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. केशवसिं धामीका अनुसार अस्पतालमा दैनिक सरदर २ सय विरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल सम्म विषेशज्ञ चिकित्सक छैनन् । प्रदेश सरकारका स्वास्थ्यमन्त्रीहरुले मन्थली अस्पतालको निरीक्षण अनुगमन गर्ने क्रममा विरामीको चाप देखेपछि प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रतिवद्धता गर्ने गरेका छन् । तर उक्त प्रतिबद्धता पुरा गर्ने तर्फ भने उनीहरुले निर्णय गर्न सकेका छैनन् ।
रामेछापको पुरानो सदरमुकाममा प्रदेश सरकारले जिल्ला अस्पतालको संचालन गर्दै आएको छ । मन्थली अस्पताल र रामेछाप अस्पतालको दुरी झण्डै १८ किलोमिटर मात्र रहेकाले मन्थलीमा थप अस्पताल स्वीकृत दिनका लागि सरकारले आनाकानी गरीरहेको वताइएको छ । सांसद श्रेष्ठले साविकको जिल्ला अस्पताल रामेछापमानै कायम राख्ने गरी मन्थलीमा नयाँ दरवन्दी सहितको प्रादेशिक अस्पताल माग गरेको वताए ।
‘मन्थलीमा थप प्रादेशिक अस्पताल माग गरेका हौं, रामेछापको अस्पताल बन्द गरेर मन्थलीमा अस्पताल बनाउने कुरा हाम्रो माग हैन् ’ उनले वताए । रामेछापमा रहेको जिल्ला अस्पतालमा समेत पछिल्लो अवधिमा विषेशज्ञ चिकित्सक र प्रविधि भित्रिएकोले विरामीको संख्या बृद्धि हुदै गएको छ । अस्पतालले केहि महिना अघि देखि हाडजोर्निको शल्यक्रिया समेत थालेको छ ।
