रामेछाप । कोरीयाको रोजगारीबाट फर्केपछि गाउँमै हाईव्रिड जातको ताईवानी मेवा खेति गरेर मनग्यै आर्जन गर्ने योजना थालेका रामेछापको खाँडादेवि ८ गागल वस्ने जनकलाल तामाङ एकपछि अर्को हण्डर खाईरहेका छन् । उनलाई मेवा खेति र जुस उत्पादन गर्ने व्यवसायलाई उचाई दिनका लागि धेरै कुराको बाधा भोग्दैछन् ।

शुरुका बर्ष गागलमा मेवा खेति मनग्यै सप्रे पछि हौसिएका तामाङले अर्काको जग्गा भाडामा लिएर पनि खेति विस्तार गरेका थिए । सुरुका बर्ष झण्डै करिव २५ हजार केजि मेवा विक्री गरेर आर्जन गरेका उनले दोश्रो बर्ष देखिनै उक्त खेतिमा विभिन्न समस्या भोग्दा छन् । कहिले नर्सरीको, कहिले प्राकृतिक विनासको , कहिले सिंचाईको , कहिले रोगकिरा र बाँदरको त कहिले सरकारी निकायको बाधा व्यवधान उनले खेप्नु परेको छ ।

तामाङका अनुसार केहि दिन अघी मात्र पाक्ने बेला भएको झण्डै १ हजार ५ केजि मेवा बाँदरले स्वाहा बनाईदियो । मेवामा बाँदर पल्केपछि छोड्दो रहेनछ तामाङ भन्छन् – झार्ने, चिथर्ने, फाल्ने गरेर स्वाहा बनायो । उनले बाँदर धपाउने कामदार पनि राखेको तर बाँदरले नटेरेको वताए । मानिसले धपाउदा नमान्ने बाँदरलाई झार पार्ने विषाधि छर्दा त्यसको गन्धले आउदैनकि भन्ने लागेर त्यसो पनि गरियो तामाङ भन्छन् – त्यसपछि पनि केहि शिप चलेन, बाँदर आईरह्यो । अर्को बन्यजन्तु दुम्सीको हैरानी पनि उनले भोग्दै आएका छन् ।

गागलमा अहिले धेरै विरुवा फल दिने अवस्थामा हुर्कदै छन् । तर उनलाई बन्यजन्तु बाट कसरी बचाउने भन्ने पिरलो छ । दुम्सी पल्केपछि मेवाको बगैंचामा ठुलो क्षति हुदै आएको उनले गुनासो गरे ।

५ बर्ष अघी उनले गागलमा मेवा रोपेका थिए । त्यसको अनुभवबाट उनले मेवाको दाना भन्दा पनि जुस बनाएर बेच्दा बढी लाभ लिने आशामा गत बर्ष मेवाको जुस उद्योग पनि गागलमा बनाए । प्रदेश सरकारको अनुदान पाएर उद्योग वनाएका उनले अहिले सम्म जुस वजारमा लान पाएका छैनन् । केहि स्याम्पल बनाएको जुसलाई नेपाल सरकारले गुणस्तर दिएन । उनले भर्खरै त्यस सम्बन्धि अनुमति पाएको वताउदै भने – अव भने केहि गर्न सकिएला कि ।

जुस कम्पनीको काम सक्दा यता गागलमा भने बाँदरको रैदलो छ । आफ्नो र भाडाको जग्गामा रोपेका मेवा फलले मात्र उक्त कम्पनीलाई पुग्दैन् । उदयपुरमा २ विगाहामा मेवा खेति गरेको र उक्त मेवा कम्पनीमा आउने तामाङले वताएका छन् । त्यस बाहेक अरु किसानहरु पनि मेवा विक्रीका लागि सम्पर्कमा आएकोले कम्पनीले जुस उत्पादन गर्ने लक्ष्य उनले राखेकै छन् ।