रामेछाप । गाउँमै रहेको अस्पतालमा डाक्टरबाट नियमित स्वास्थ्य परिक्षण र उपचार सेवा हैन्, मुख हेर्न समेत नपाउने उत्तरपूर्वि रामेछाप उमाकुण्डमा संचालन भएको एकिकृत स्वास्थ्य शिविरमा झण्डै ८ सय विरामीले विषेशज्ञ सहितका चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराउने र औषधि उपचार पाएका छन् ।
वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरको नेतृत्वमा जनस्वास्थ्य कार्यालय रामेछापको संयोजकत्वमा पुगेको विषेशज्ञ सहितको स्वास्थ्यकर्मीको टोलीले शनिबार र आईतबार उमाकुण्डको बाम्ती र प्रितीमा दुई दिने स्वास्थ्य शिविरको आयोजना गरि दुर्गमका बासिन्दालाई सेवा दिएको थियो । शिविरमा बैकल्पिक चिकित्सा तथा आयुर्वेद उपचार र निशूल्क औषधि वितरण समेत गरिएको थियो ।
स्वास्थ्य शिविरमा जनरल स्वास्थ्य, स्त्री रोग, बालरोग, भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सर परिक्षण र स्क्रिनिङ लगाएतको सेवा समेटिएका थिए । शिविरमा बर्षौ देखि रोग पालेर बसेका विरामीले घरदैलोमानै विषेशज्ञ चिकित्सकको सेवा पाएका थिए । केहि विरामीहरुलाई सुविधा सम्पन्न अस्पततालमा रेफर समेत गरिएको जनाइएको छ ।
‘हामीले दुई दिन भएपनि गाउँपालिकामा ठुला डाक्टरहरुबाट रोग परिक्षण गराउने मौका पायौं ’ उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवार भन्छन् – पालिकाले ठुलो लगानी गर्नुको साथै धेरै अनुनय विनय गर्दा पनि चिकित्सक बसाउन नसकेको बेलामा भएको विषेशज्ञ स्वास्थ्य शिविर धेरै प्रभावकारी भयो । सुनुवारले उमाकुण्डमा स्वास्थ्य पूर्वाधारको विकास गरिएपनि चिकित्सक टिकाउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
वाम्तीमा सरकारले करोडौं खर्चेर प्राथमिक अस्पताल निर्माण गरेको छ । प्रितीमा समेत अस्पताल निर्माण गरिएको छ । पालिकाले आन्तरिक खर्चमा चिकित्सक राख्नका लागि पटक पटक प्रयास गरेको छ । केहि अवधिका लागि चिकित्सक बस्ने गरेका भएपनि दुर्गममा उनीहरुका लागि सेवा सुविधा र अध्ययन अनुसन्धानको क्षेत्र प्रयाप्त नभएकोले हिड्ने गरेको स्थानीयले वताएका छन् ।
स्वास्थ्यकर्मीहरुको टिम सगैं दुर्गममा पुगेका स्वास्थ्यमन्त्री मगर समक्ष स्थानीय बासिन्दाले पूर्वाधार निर्माण मात्र ठुलो कुरा नभएको भन्दै विरामीले उपचारका लागि समस्या भोग्नु परेको वताएका छन् । यहाँ कोहि अलि धेरै विरामी भएको अवस्थामा हेलिकप्टर चार्टर गरेर काठमाडौं लानुपर्ने बाध्यता छ वाम्तीका केदार कार्कीले भने – अहिले एम्बुलेन्स समेत छ्रैन्, बाहिरको एम्बुलेन्स मागेको बेलामा आईदिदैन् ।
