रामेछाप । उत्तरपूर्वि रामेछापको दुर्गम गाउँपालिका उमाकुण्डलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरीएको छ । शनिबार उमाकुण्ड गाउँपालिकामा आयोजित कार्यक्रममा बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभुकुमार झाले गाउँपालिकालाई पूर्णखोपयुक्त गाउँपालिकाको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्री थापामगरले जिल्लाको दुर्गम वस्ती सम्म पुगेर बालबालिकाहरुलाई पूर्ण खोप लगाउने कार्यमा सफलता पाएकोमा उमाकुण्ड गाउँपालिका परिवारलाई धन्यवाद थिए । उनले हिमाली वस्तिका बालवालिकाहरुले समेत तोकिएको अवधिमा पाउनु पर्ने सबै खोप प्राप्त गरेकोमा खुसीयाली समेत प्रकट गरे ।

उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजीत सुनुवारका अनुसार पालिका भित्र जन्म देखि १५ महिना सम्मका १ सय ५५ र १६ महिना देखि ५९ महिना सम्मका ४ सय ६८ जना बालबालिकाहरुले तोकिएको अवधिमा पाउनु पर्ने सबै खोप लगाएको वताए । पालिकाले गत चैत महिनामानै उक्त अभियान पुरा गरेको थियो ।