रामेछाप । रामेछापबाट निर्बाचित प्रतिनिधिसभा सदस्य डा. कृष्णहरी बुढाथोकी संघीय संसद प्रतिनिधिसभाको महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा निर्वाचित हुदैछन् ।
उक्त समितिको सभापतिका लागि रास्वपाले बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । बिहिबार उनको मात्र उम्मेदवारी दर्ता भएकोले शुक्रबार हुने निर्वाचनमा उनी निर्बिरोध निर्बाचित भएको घोषणा हुदैछ । अर्थसास्त्रमा विद्याबारिधि गरेका डाक्टर बुढाथोकी आर्थिक विकास र समाजसास्त्रमा विषेश दखल राख्ने सांसदको रुपमा चिनिन्छन् ।
रास्वपाले संसदका विभिन्न ८ वटा समिति र २ वटा संयुक्त समितिको सभापतिका लागि आफ्नो दल बाट सांसदहरुलाई उम्मेदवार बनाउने र सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम नेपाली काँग्रेसका भरतवहादुर थापा सार्वजनिक लेखा समितिको सभापति हुदैछन् । उक्त पदका लागि उनको मात्र उम्मेदवारी दर्ता भएको छ । संघीय संसदमा विभिन्न ६ राजनीतिक दलको प्रतिनिधित्व रहेको भएपनि विषयगत समितिको नेतृत्व भने अव २ दलका सांसदले मात्र गर्नेछन् । नेकपा, नेकपा एमाले, राप्रपा र श्रमसंस्कृति पार्टी संसदको विषयगत समितिमा सदस्यहरु मात्र रहने छन् ।
संसदको विषयगत समितिलाई नेतृत्व गर्ने सभापतिले राज्यबाट सचिवालय, कर्मचारी, सवारी साधन लगाएतको सुविधा पाउनेछन् भने मर्यादाक्रम समेत राज्यमन्त्री सरह हुनेगर्छ ।
