रामेछाप । निजी क्षेत्रको लिखु ४ जलविद्युत आयोजनाको एउटा टवाईनमा समस्या देखिएपछि बुधबार विहान देखि उक्त आयोजनाबाट विद्युत उत्पादन ठप्प भएको छ । दुईटा टवाईन मध्ये एउटा टवाईनमा विहान ठुलो आवाज सहित कम्पन आएपछि आयोजनाले उत्पादन ठप्प पारेको हो ।
उक्त जलविद्युत आयोजनाका सम्पर्क अधिकृत विष्णुप्रसाद अधिकारीले दिएको जानकारी अनुसार टवाईनमा आएको उक्त समस्याको पहिचानको लागि आयोजनाको परामर्शदाता लाई जानकारी गराईएको छ । काठमाडौंबाट परामर्शदाता आएर परिक्षण गरेपछि बल्ल के समस्या भएको भन्ने थाहा हुने अधिकारीले वताए । त्यतिन्जेल सम्मका लागि आयोजनाको पुरै बन्द रहने छ । प्रारम्भिक अनुमानमा सिमेन्टको कुनै भाग या ठोस बस्तु आएर टवाईनमा हानेको अनुमान स्थानीय अधिकारीहरुले गरेका छन् । त्यसका लागि बाँध देखि टवाईन सम्मकै संरचना परिक्षण गर्नुपर्ने भएको वताइएको छ ।
आयोजनाले बुधबार सार्वजनिक सूचना जारी गरेर समस्याका पहिचानका लागि बारम्बार परिक्षण गर्नुपर्ने र परिक्षणको क्रममा लिखु नदीमा पानी थपघट भइरहने भएकाले कुनै क्षति हुन नदिनका लागि नदी क्षेत्रमा नजान सर्वसाधारणलाई अनुरोध गरेको छ । अहिले रामेछापको भुजि र ओखलढुंगाको विमिरे नजिक देखि आयोजनाको उत्पादन गृह लिम्ती सम्म लिखु नदीमा पूर्ण रुपमा पानी छोडिएको छ । परिक्षणमा पानी कहिले टनेलमा हालेर टवाईन चेक गर्ने अनि फेरी बन्द गर्नुपर्ने भएकाले आयोजनाले नदीमा पानी थप घट भइरहने जनाएको हो ।
अधिकारीका अनुसार कुल ५२ दशमलव ४ मेघावाट क्षमताको उक्त आयोजनाबाट हाल ११ देखि १२ मेघावाट विद्युत उत्पादन गर्दै आएको थियो । आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मन्थली नगरपालिका १३ साँखेमा रहेको खिम्ती ग्रिडमा पु¥याएर राष्ट्रिय प्रशारणमा जोडिएको छ ।
