रामेछाप । मन्थली नगरपालिका ४ सालु पोखरेका फत्तवहादुर खड्काले पालेकोे कुकुर बुधबार दिउँसो ३ बजेतिर बेस्मारी करायो, घर नजिकै कुकुरले अत्यन्त विषालु राजगोमन सर्प देखेपछि कुकुरले भुक्दै त्यसलाई लखेट्न थाल्यो । अर्को कुकुर पनि थपिएपछि गाउँमा कहिल्यै नदेखिएको बडेमाको राजगोमन सर्प फत्तवहादुरको घर बाट उँधो झर्दै उनकै दाई दानवहादुरको ढिकेटोमा पस्यो ।

‘म बारीमा थिए, बारीबाट आउदा ढिकेटोमा सर्प रहेको कुरा थाहा पाए’ दानवहादुर खड्काले भने –े गएर हेर्दा त अहिले सम्म नदेखेको ठुलो सर्प, हेर्दै सातो जाने, डरलाग्ने । करिव १२ फिट जति लामो र कोदालाको बिड जतिकै मोटो थियो त्यो पाटा पाटा परेको सर्प ।

त्यसपछि उनले छिमेकी शिबजी घिमिरेलाई बोलाएर ढिकेटोमा रहेको सर्प देखाए । ढिकेटोमा रातो माटो थियो । त्यहि माटोमा पोको परेको अवस्थामा सर्प थियो । शिवजीले पनि त्यस्तो सर्प अहिले सम्म देखेकै थिएनन् । दुईजनाले सल्लाह गरे – त्याहाँ बाट सर्प भगाउने । भगाउनका लागि उपाय निकाले – झुम्राको धुवाँ लगाउने । शिवजी भन्छन् – धुँवा लगायौं तर भागेन, अनि लौरो ल्याएर घोचघाँच पारिदियौं, त्यो त ठडिएर आयो, भगाउने योजना पुरा गर्नै पाएनौं , आफै भाग्नु प¥यो । त्यो ठडिएर आएपछि गोमन सर्प हो, विषालु हुन्छ भनेर छेउनै परेनौं ।

बेलुका झण्डै ६ बजे तिर ढिकेटो बाट कसोकसो गरी सर्प निस्कीयो । ७८ बर्षका वृद्ध खड्का भन्छन् – बाहिर जाला भनेको त झन घर तिर पो आयो । घरको ढोका नजिक नाग टाँसेको ठाँउमा गएर वस्यो । ढोकै नजिक अजङ्गको सर्प बसेपछि घरमा रहेका ६ जनाको परिवार बाहिर निस्किनु पर्यो । घर भित्र जाने काम बन्द भयो । सबैजना बाहिर आँगनमा आए र त्यसैलाई हेरीरहे । भोक लागेपनि भित्र पसेर खाना बनाउने कुरा सम्भव थिएन ।

शिबजि घिमिरे सामाजिक र राजनीतिक कार्यकर्ता पनि हुन् । उनले जिल्लाका प्रमुखु जिल्ला अधिकारी देखि डिभिजन बन अधिकृत सम्मलाई फोन घुमाए । वडा अध्यक्ष राजन घिमिरे नजिकैका छिमेकी हुन् । उनलाई पनि जानकारी गराईयो । एक पछि अर्को गर्दै गाउँलेहरु जम्मा भए । सालु चौकीका प्रहरी हबल्दार सहित २ जना प्रहरी पनि आईपुगे । त्यति धेरै मानिस जम्मा हुदाँ सर्प अव कपडा राखेको सानो टेवल तिर गुडिकिल्एर बस्यो । डिभिजन बन कार्यालयले सर्प समाउने विज्ञ जिल्लामा नभएकोले चितवन या जनकपुर बाट बोलाउनु पर्ने कुरा जानकारी दियो । तर त्यसका लागि बिहिबार सम्म कुर्नु पर्दथ्यो । बनका अधिकारीले सर्प नमार्न भनेपछि थप धरपकट पनि गर्ने कुरा भएन । विज्ञ टोली पर्खनुको अर्को विकल्प थिएन ।

राती अवेर गाउँलेहरु आ आफ्ना घर तिर गए । खड्का परिवारका र प्रहरी सहित ७ जना जति आँगनमा आगो बालेर सर्प रुघेँर वस्यो । बेला बेलामा टर्च बालेर हेर्दा सर्पका आँखा टिलिल्ल टल्कन्थे । ‘यहिँ रहेछ भन्दै फेरी आगो ताप्दै बस्ने गर्यौं ’ खड्काले भने । राती २ बजे पल्लो घरकी बुहारीको घरमा खाना पाक्यो, त्यहि खायौं ।
बिहिबार विहान जनकपुर बाट विज्ञ टोली हिडेको खवर पाएपछि मनमा केहि शान्ति आयो । नेपाली सेनाको जागीर बाट ३३ बर्ष अघी सेवा निवृत भएका खड्काले भने – राति भरीको निन्द्रा भन्दा पनि त्यो विषालु सर्पको डसाईमा परिन्छ कि भन्ने पिरलो थियो । दिउँसो १ बजे तिर विज्ञ र डिभिजन बन अधिकृत सहितको टोली घरमा आईपुग्यो । झण्डै १८ घण्टा सम्म सर्प एकै थलोमा बस्यो, कतै चलेन । खड्काले भने – विज्ञहरु त यति जान्ने हुदाँ रहेछन् कि आएको ५ मिनेटमै सर्प समातिहाले । समातेको सर्प उनीहरुले सुरक्षित झोलामा हालेर विज्ञ टोली जनकपुर फर्केपछि खड्काको परिवारमा खुसी छायो ।

राजगोमन यसअघी सालुमा कहिल्यै देखिएको थिएन । त्याहाँ मात्र हैन, नेपाली सेनाको जागीरमा हुदाँ तराईका विभिन्न जिल्लाको व्यारेक चाहारेका खड्काले यति ठुलो खालको राजगोमन अन्त कतै देखेका थिएनन् । सर्प समातेपछि विज्ञलाई त्यसका बारेमा उनले धेरै कुराको जानकारी मागे । विज्ञले भनेको कुरा सुनाउदै खड्का भन्छन् – राजगोमनले अरु आहारा भन्दा पनि साना सर्पको मात्र आहारा गर्ने र आहारा पाएपछि १५ सम्म पनि एकै स्थानमा बस्न सक्ने रहेछ । त्यसले हम्मेसी मानिसलाई नटोक्ने तर टोकी हालेमा २५ मिनेटमै मानिसको मृत्यू हुन सक्ने रहेछ । ‘त्यति कुरा सुनेपछि झनै होस हवास उड्यो ’ खड्काले भने – त्यो सर्पलाई त त्यसै राजगोमन भनेको रहेछन् – ५ किलोमिटर एरिया आफ्नो बनाएर बस्नेरहेछ , उस्ले डस्यो कि चोला चिलिम ।