रामेछाप । आईतबार जिल्ला प्रशासन कार्यालय रामेछाप अघील्तिर मन्थली नगरपालिका ६ भलुवाजोरका बासिन्दाले ईन्छिनडाडाँ खानेपानी योजना पुरा गर्न माग गर्दै नाराजुलुस गरे । एक दशक भन्दा अघी थालिएको योजना पुरा नभएको, खानेपानीको चरम अभाव भएको , उपभोक्ता समिति योजना पुरा गर्नका लागि संवेदनशिल नभएको जस्ता कुरामा असन्तुष्टि जनाउदै केहि गाउँलेहरु प्लेकार्ड सहित नाराजुलुसमा सहभागि हुन जिल्ला सदरमुकाम सम्म आईपुगे । उनीहरुले जिल्ला प्रशासन कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ४ रामेछापमा दुईपाने ज्ञापन पत्र समेत बुझाए ।

उक्त नाराजुलसको पछाडि स्थानीयहरुमा सहज रुपमा खानेपानी नपाएको पिडा अवश्यै थियो । अझ त्यसमाथि खानेपानी जस्तो संवेदनसिल क्षेत्रको सरकारले थालेको योजना दशक बितिसक्दा पनि पुरा हुन नसकेको कुराले गिज्जाई रहेको थियो । हरेक बर्ष खानेपानी आउला भन्ने आशामा वस्ने गाउँलेहरुले धेरै पटक पानी आउछ भन्ने आश्वासन मात्र सुने । आश्वासनले थाकेका उनीहरु अति भएपछि सदरमुकाम ओर्लिएर , नारा घन्काए र आशा गर्दै गाउँ फर्कि, त्यै अव पानी आउला कि ।

तर ईन्छिनडाडाँ खानेपानीको योजनाको मर्म स्थानीयले सोचेको भन्दा अर्कै छ । जुन कुरा सर्वसाधारणलाई धेरै जानकारीमा छैन् । योजना निर्माणका लागि गठन भएको उपभोक्ता समिति र सरकारी निकाय विच भएको संझौतामा निर्माण कुल लागतको २० प्रतिशतले हुन आउने रकम बराबर श्रम गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर अहिले श्रम गर्न केहि तयार छैनन् । श्रम नगरि अव सरकारी लगानीमा मात्र खानेपानीको धारा उनीहरुको घरमा झर्दैन् । न त नाराजुलुसलेनै झर्छ ।

ईन्छिनडाडाँ खानेपानी योजनामा हाल सम्म निर्माण भएका अधिकांश निर्माण कार्यको खर्च सरकारी बजेटबाट बेहोरिएको छ । उपभोक्ता समितिमा दिपककुमार थापा अध्यक्ष रहदाँ करिव ५८ लाख बराबरको काम उपभोक्ता समितिको तर्फको भयो । उनको पालामा सरकारी कोष बाट ढुवानी वापत २ लाख ३६ हजार जति रुपैयाँ भुक्तानी बाहेक अन्य रकम उपभोक्ता समितिलाई आएन ।

गाउँमा श्रम गर्ने मानिस छैनन्, जति छन् तिनले एक कोदालो खन्नेवाला छैनन् । चैत ५ गते नै खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदबाट राजिनामा गरेर दिपक थापा भन्छन् – काम गर्न कोहि तयार छैनन्, सबैलाई घरमा धारा र मुखमा पानी चाहिएको छ, यस्तो भएपछि जुनै समिति आएपनि काम गर्न सक्दैन् ।

थापाकै सक्रिएतामा मन्थलीको कुनाउरीमा बनेको ईनार देखि गाउँकै सबैभन्दा माथिल्लो चुचुरो ईन्छिनडाडाँ सम्म पानी उकालियो । विजुली बाट विभिन्न स्थानमा निर्माण भएका टंकी हुदै ईन्छिनडाडाँ पुगेको पानीलाई अस्थायी रुपमा भएपनि गाउँमा वितरण गर्ने कुरामा थापा कार्ययोजना बनाउदै थिए, ठिक त्यहि बेला उनका विरोधमा पनि नाराबाजि भयो ।

श्रम नगरी पाईप लाईन बन्दैन, धारा पोष्ट अनि वितरणका लागि विपीटि ( ईन्टेक ) निर्माण हुदैन् । ‘अव जति काम गर्नुपर्नेछ, करिव सबै श्रमदान बाटनै हो ’ थापा भन्छन् – नारा लगाउन जस्तो सजिलो काम गर्न हुदैन, अर्को गाउँले आएर या कसैको विरोधमा कराउदैमा सरकारले पैसा हालेर बाँकी काम सकेर योजना संचालन हुनसक्ने अवस्था म देख्दिन ।

भलुवाजोरको पुरै गाउँ खानेपानीका लागि साँच्चै पिडा खेप्दैछ । परम्परागत श्रोत सुक्दै गए, गाउँमा वसोवास र मद्धत कम हुदैगयो । श्रम र सामुदयिक काम गर्ने पहिलेको चलन हरायो । स्थानीयको घाँटी रसाउनका लागि थालिएको महत्वकाँक्षि ईन्छिनडाडाँ लिफ्ट खानेपानी योजना सुरु गर्ने अवधिका उपभोक्ता समितिका अध्यक्ष कैलाश थापाको मृत्यू भईसक्यो, दोश्रो अध्यक्ष दिपक थापाले राजीनामा दिए । योजनाको बाँकी कार्य पुरा गरेर गाउँमा खानेपानीको धारा झार्नका लागि फेरी अव अर्को उपभोक्ता समिति गठन प्रकृया वडा कार्यालयले थालेको छ । वडा अध्यक्ष अशोक तामाङले साविकको उपभोक्ता समिति विघटन गरी नयाँ उपभोक्ता समिति गठन गर्नुपर्ने भएकाले गाउँभेला डाकेका छन् । भेलाले अध्यक्ष त छान्ला तर नयाँ समितिले पनि बग्रेल्ति समस्या सुल्झाएर खानेपानी योजना पुरा गर्ला कि नगर्ला सबैको चासो अव त्यसैमा केन्द्रित छ ।