रामेछाप । बागमति प्रदेश सरकारले मन्थली नगर अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा स्तर वृद्धि गर्ने गरी गरेको घोषणा कार्यान्वयनमा आउन सकेको छैन् ।

प्रदेश सरकारको गत आर्थिक बर्षको बजेट मार्फत मन्थली अस्पताललाई प्रदेश अस्पतालको रुपमा स्तर वृद्धि गर्ने घोषणा गरेको थियो । तर दुई आर्थिक बर्ष समाप्त हुने बेलामा पनि उक्त निर्णय अनुसार प्रदेश अस्पताल बनेको छैन् ।

संघीय सरकारले साविकमा प्राथमिक अस्पताल संचालन गर्दै आएको बेलामा आधारभुत स्वास्थ्यको अधिकार स्थानीय तहले पाएपछि मन्थली नगरपालिकाले उक्त केन्द्रको स्वामित्व लिएको थियो । साविकको केन्द्रलाई विस्तार गरी नगर अस्पताल संचालन गरेको पाँच बर्ष वितिसकेको छ ।

भारतीय सरकारको सहयोगमा भूकम्प पछिको पूनिनिर्माण कार्यक्रम अन्तरगत मन्थली अस्पतालका लागि आधुनिक भवन लगाएतका पूर्वाधार निर्माण सम्पन्न भएको छ । दैनिक सरदर २ सय विरामी स्वास्थ्य परिक्षण तथा उपचारका लागि पुग्ने उक्त अस्पताल संचालनका लागि अहिले मन्थली नगरपालिकाको बार्षिक करोडौं रुपैयाँ खर्च भइरहेको छ ।

प्रदेश बाट अनुगमनका लागि आएको विज्ञ सहितको टोलीले मन्थली अस्पतालमा सम्पूर्ण पूर्वाधार प्रदेश अस्पतालका लागि पुग्ने भएको भन्दै स्तरोन्नतिका लागि सिफारिस गरेको थियो । तर उक्त सिफारीस र बजेट बक्तव्यको कार्यान्वयनका लागि प्रदेश सरकारले फाईल अघी बढाएको छैन् । प्रदेश अस्पताल बनाउने निर्णयमा संघीय सरकारको समेत सहमति आवश्यक पर्छ ।

मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशवसिं धामीका अनुसार प्रदेश अस्पताल नहुदाँ विषेशज्ञ सेवा संचालनका लागि कठिनाई छ । अस्पताल प्रदेश स्तरको भएपछि दरवन्धि वृद्धि हुने, विशेषज्ञ सेवाको विस्तार हुने र मन्थली नगरपालिकालार्य स्वास्थ्य क्षेत्रमा हुने बार्षिक झण्डै अढाई करोड रुपैयाँको बोझ घटने थियो ।

नगर अस्पतालका लागि करिव ३० जनाको दरवन्दी भएपनि हाल १२ जना मात्र स्थायी कर्मचारी कार्यरत रहेका छन् । बाँँकी कर्मचारी सरकारले पठाउने छात्रवृति र नगरपालिकाको श्रोतबाट धान्नु परेको डाक्टर धामीले वताए ।