रामेछाप । रामेछापको मन्थली अस्पतालका कार्यालय सहयोगी विश्वराम बुढाथोकीले विभिन्न घटनामा परेर ज्यान गुमाएका मृतकहरुको शवको चिरफार गर्न थालेको २८ बर्ष पुग्न थाल्यो । अवधि र अनुभवले जति उनी खारिदै गए, उनले पाउने सुविधा भने त्यतिनै खुम्चिदै गएको छ ।
‘अव त काम नगर्ने मनसायमा पुगेका छौं ’बुढाथोकीले सुस्केरा हाल्दै भने – हामीलाई पोष्टपार्टमका लागि चिरफार कार्य गर्दा आउने सुविधा साघुँरियो । पहिलेको जति पाउदैनौं । पोष्टमार्टम गर्ने उक्त अस्पतालमा २ जना छन् । अर्का सहयोगी हुन् मीनवहादुर खत्री ।
पोष्टमार्टम गर्ने काम डाक्टरले हो । ‘हाम्रो चाँहि डाक्टरले भने बमोजिम मृतकको शव चिरफार गर्ने हो । हेर्दै डरलाग्यो र कतिपय अवस्थामा घिनलाग्दो काम गर्नु सामान्य होईन्’ बुढाथोकी भन्छन् – घटना दुर्घटनामा परेकाको कुहिएको शव सम्झदा पनि आङ जिरिङ्ग हुन्छ । नदीमा बगेर वेपत्ता भएको र ३ महिना पछि फेला पारेको शव पनि बुढाथोकीले चिरफार गरेका छन् । कतिपय त शरिर आउदैन्, हड्डी टक्टक्याउनु पर्ने अवस्थाका शव पोष्टमार्टमका लागि आउछन् ।
दुर्गन्धले पोष्टमार्टम घर भित्र कसरी पस्ने ? भन्ने कुरा अव उनका लागि त्यति महत्वको विषय बन्न छोडेको छ । ‘अव बानी भैसक्यो ’ बुढाथोकीले भने – पहिले धेरै डर घिन पनि लाग्थ्यो, अहिले त्यस्तो लाग्दैन् । बुढाथोकीको अनुभवमा पोष्टमार्टम गरेर निस्कदा आफ्नो शरिर पुरै दुर्घन्ध हुन्छ । हामी नजिक पुग्यो भने अरु खप्न सक्दैनन्, भाग्छन् । उनले भने – आफुलाई अव सामान्य जस्तो लाग्न थालेको छ ।

पोष्टमार्टम सवै उस्तै र एकनाशका हुने कुरा भएन । कतिपय अवस्थामा विश्वराम डाक्टर सगैं च्यापिएर दुर्गममा पुगेर पनि शवको चिरफारमा खटेका छन् । झण्डै दुई बर्ष अघी टोकरपुरमा पहिरोले धेरै मानिसको ज्यान गयो, उनी त्यहि पुगे । अनि फर्पुमा घर भित्रै पुरिएका ३ जनाको शव पनि घटनास्थलमै पुगेर चिरफार गरिदिए । अस्पतालले पोष्टमार्टमका लागि शूल्क तोकेको छ, कतिपय त्यहि शूल्क तिर्न नसक्ने पनि हुन्छन, कोहि तिरीसकेको शूल्क पनि फिर्ता माग्ने पाईन्छन् अनि कतिपय नेताहरु निशूल्क पोष्टमार्टम गर्नका लागि दवाव दिने पनि छन् । यि सवै कुराका साक्षि हुन् विश्वराम बुढाथोकी र मीनवहादुर खत्री ।
मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा शुरुको अवस्थामा पोष्टमार्टम घर थिएन । हेर्दै डरलाग्दा शवहरु यसो कपडाले छेकेर बुढाथोकी र खत्री मतृकको शव चिरफार गर्थे । अहिले सुविधा सम्पन्न पोष्टमार्टम घरले काममा धेरै सघाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र हुदै नगर अस्पताल सम्म आईपुग्दा सेवाको गुणस्तर र भौतिक पूर्वाधारले छलाङ मारेको छ, तर उनीहरुलाई भने सुविधाका लागि मन खिन्न बनाउनु पर्ने गरी ओरालो यात्रा तिर धकेलिनु परेको छ ।
दुर्घन्धित वातावरणमा गरेको कामको ज्याला भनौ या सुविधा काटिएकोमा पोष्टर्माम कर्मिहरुको चित्त चसस्क चिसीएको छ । ‘काम अनुसारको सुविधा भन्दा पनि खाईपाई आएको सुविधा नघटोस भनेर हामीले भनेका हौं तर उक्त कुराको सुनुवाई भएको छैन् ’ बुढाथोकीले थपे – मनै मारेर त कसरी काम गर्नु ? । उनीहरुले अस्पताल प्रशासनमा साविकको रकम बमोजिम भुक्तानी पाउनका लागि निवेदन दिएका छन् तर त्यसबारेमा भएको निर्णय बारेमा उनीहरुले चाल पाएका छैनन् ।
पोष्टमार्टमका लागि शवको चिरफार गर्ने सहयोगीलाई संघीय सरकारले पहिले सुविधा पठाउने गरेको थियो । गत बर्ष देखि उक्त सुविधा स्थानीय सरकारले दिने भन्दै रोकिदियो । मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयाँल भन्छन् – माथिबाट रकम निकाशा हुन छोडेको हो, नगरपालिकाले पनि हालसम्म दिएको छैन्, तर मृतकका आफन्तहरुबाट लिने गरेको शूल्क बाट उनीलाई सुविधा भने दिएकै छ । साविकमा माथिबाट आउने पैसा घटेकाले सुविधा पनि घटेको उनले वताए । ‘पहिले दुवै तिर बाट पाउथे ’ फुयाँलले भने – अहिले अस्पतालले अशूल्ने शूल्कबाट मात्र धानिएको अवस्था हो , दोहोरो नहुँदा घटेको भान परेको मात्र हो ।
पोष्टमार्टम गर्नुपर्ने शव ल्याउने आफन्तबाट मन्थली अस्पतालले २ हजार असुल्छ । डाक्टर र चिरफार सहयोगीले पोष्टमार्टमका लागि निकाशा भएको सरकारी सुविधामा आन्तरिक रुपमा असुलेको पैसा थप गरेर लिन्थे । पोष्टमार्टमका लागि आवश्यक औजार उपकरणका लागि करिव ३ सय खर्च हुन्छ । सामान पनि आफन्तलाईनै किन्न लगाउने चलन थियो ।
तर अहिले बनाएको कार्यविधिले केहि परिवर्तन गरेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशवसिं धामीले माथिल्लो निकायले पोष्टमार्टम खर्चको निकाशा रोकेपछि अस्पतालले लिने गरेको शूल्कबाट खर्च बेहोरेको र चिरफार गर्नेलाई दिईने सुविधा त्यस्तो थोरै नभएको वताए । ‘अस्पतालले लिने २ हजार शूल्क मध्ये बाट ८ सय डाक्टरलाई र ६ सय सहयोगीलाई रकम उपलव्ध गराउने गरी निर्णय भएको हो ’ धामिले भने – ३ सयको सामाग्री शूल्कको २ हजार भित्रैबाट खरिद गर्ने र बाँकी ३ सय अस्पतालको आन्तरिक कोषमा राख्ने व्यवस्था गरिएको छ ।
मन्थली अस्पतालको रेकर्डमा गत आर्थिक बर्षमा ८० जनाको पोष्टमार्टम गरिएको छ । यो आर्थिक बर्षमा पनि मन्थली अस्पतालमा ५० जनाको पोष्टमार्टम भइसकेको छ । आत्महत्या, कर्तव्य ज्यान, विभिन्न दुर्घटना तथा प्राकृतिक प्रकोपमा परेर मृत्यू भएकाको शव पोष्टमार्टम गर्नुपर्ने कानुनी व्यवस्था छ ।
