रामेछाप । जगदीश घिमिरे प्रतिष्ठान रामेछापले यस बर्षको जगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोकलाई प्रदान गरिएको छ ।
निबार मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृति साहित्यिक सभा कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमति दुर्गा घिमिरेले ५१ हजार नगद र सम्मान पत्र सहित उक्त पुरस्कार आलोकलाई हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा गत बर्षको जगदीश घिमिरे स्मृति पुरस्कार मिना चौलागाईलाई प्रदान गरिएको थियो । गत बर्ष उक्त पुरस्कार वितरणका लागि कार्यक्रम आयोजना गर्न नसकेकोले यस बर्ष दुवै पुरस्कार एकै कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्वर्गीय जगदीश घिमिरेले साहित्य क्षेत्रमा पु¥याएको योगदानका बारेमा विभिन्न साहित्यिक व्यक्तित्वहरुले चर्चा गरेका थिए । २००२ सालमा रामेछापको मन्थलीमा जन्मिएका स्वर्गीय जगदीश घिमिरेले युवा अवस्थामा लेखेको लिलामी र साविति उपन्यास चर्चित बनेका थिए ।
साहित्यको पाटो विचमै छोडेर अध्ययन र रोजगारीका लागि विदेशीएका घिमिरे २०४० साल देखि समाजसेवामा लागेका थिए । रामेछापमा गैरसरकारी संस्था तामाकोशी सेवा समितिको स्थापना गरेर जिल्लाका विभिन्न भेगमा बसोवास गर्ने छेउ लागेका बर्गलाई शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, कृषि, आयआर्जन, सहकारी , सौचालय निर्माण अभियान जस्ता कार्यक्रम मार्फत उल्लेख्य विकास निर्माण र सामाजिक जागरण गराउनमा घिमिरेको योगदान उल्लेख्य रहेको छ ।
समाजसेवाको मेलोमा लाग्दा लाग्दै मल्टिपल माईलोमा जस्तो प्राणघातक क्यान्सर रोगबाट थलिएका घिमिरे जिवनको उत्तरार्धमा फेरी साहित्य सेवामा फर्किएका थिए । क्यान्सरले थलिएका घिमिरेले ओछ्यानमा बसेर लेखेको कृति अन्तरमनको यात्राले २०५४ सालको मदन पुरस्कार जितेको थियो । उक्त कृति नेपाली साहित्य क्षेत्रमा हाल सम्मकै अब्बल मानिने गरिन्छ ।
साहित्यको क्षेत्रमा पुनर्रआगमन भएपछि घिमिरेले रामेछाप जिल्लामा आफ्नै नाममा स्थापना भएको स्मृति प्रतिस्ठान मार्फत साहित्यिक भेलाको आयोजना गर्ने गरेका थिए । हरेक हिउँद महिनामा राष्ट्रिय तथा स्थानीय साहित्यकारहरुलाई एकाथलोमा भेला गराएर उनले दुई दिन सम्म साहित्यिक कार्यक्रमको आयोजना गर्ने गर्थे । उनकाे निधन पछि पनि प्रतिष्ठानले साे कार्यक्रमलाई निरन्तरता दिइरहेको छ ।
घिमिरेको साहित्य श्रृजना मदन पुरस्कार पाएपछि पनि रोकिएन । उनले पृथ्विनारायण शाहको पाला देखि तत्कालिन माओवादी युद्ध सम्मको कथा उनेर नेपाली साहित्यका लागि सकस उपन्यास बजारमा ल्याए । सकसले नेपालको राजनीतिक सकसलाई उजागर गरेको छ । बर्दी, जगदीशका रोजा कविता तथा विभिन्न फुटकर रचनाका लागि घिमिरेको कलम जिवनको अन्तिम घडी सम्म चलिरहेको थियो । उनको २०७० साल कार्तिक १४ गते ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
शनिबार मन्थलीमा आयोजित कार्यक्रममा पुरस्कार प्राप्त गर्ने आलोक र चौलागाईका अतिरीक्त विभिन्न साहित्यकारहरुले आ आफ्ना रचना सुनाएका थिए । कार्यक्रममा जगदीश घिमिरे र साहित्यको बारेमा विद्यालय स्तरिय बक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो । कार्यक्रममा जेष्ट नागरिकलाई न्यानो कपडा हस्तान्तरण गरिएको थियो ।
