रामेछाप । पूर्व उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले रामेछाप जिल्लामा खानेपानीको क्षेत्रमा केन्द्रीय सरकार र प्रदेश सरकारको ठुलो लगानी भित्रीएको बताएका छन् । खानेपानी योजनाहरुको निर्माण चाडो भन्दा चाडो सकेर नागरिकले खानेपानीको सहज आपूर्ति गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारण सभाको बिहिबार मन्थलीमा उद्घाटन गर्दै पूर्व राज्यमन्त्री तामाङले मन्थली खानेपानी सुधार विस्तारका लागि समेत ठुलो रकम बिनीयोजन भएको वताए ।

कार्यक्रममा तामाङले रामेछाप जिल्ला सुख्खा क्षेत्र भएकाले दक्षिण तर्फका अधिकांश ग्रामिण क्षेत्रमा खानेपानीको अभाव रहेको र त्यसलाई अन्त्य गर्नका लागि बेथान, कठजोर, तिल्पुङ, सुनारपानी, सालु र साँघुटार जस्ता स्थानमा खानेपानीका लिफ्ट योजनाहरुको कार्यान्वयनका लागि करोडौं रुपैयाँ ल्याउनका लागि सफल भएको वताए । उनले योजनाहरुको सफल कार्यान्वयनमा जोड दिदै नागरिकहरुलाई थप कुरामा आफुले सक्दो सहयोग गर्ने वताए ।

साधारणसभा उद्घाटन कार्यक्रममा बागमति प्रदेशसभाका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले जिल्लाको सदरमुकाम र दक्षिणी भागका अधिकांश भूभागहरु सुख्खाग्रस्त क्षेत्रमा रहेको वताउदै नागरिकलाई दैनिक रुपमा आवश्यक हुने खानेपानी वितरण गर्ने कुरा चुनौतिको रुपमा रहेको वताए । उनले खानेपानी योजनाको दिर्घकालिन संचालनका साथै सरसफाईको क्षेत्रमा पनि खानेपानी उपभोक्ता समितिले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

उपभोक्ता समितिका अध्यक्ष पूर्णवहादुर सुबेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खानेपानी तगा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष लेखवहादुर कार्की, उपभोक्ताहरुको तर्फबाट गोबिन्दप्रसाद घिमिरे,मन्थली १ का निवर्तमान वडाअध्यक्ष नारायणदाश श्रेष्ठ, नेपाल पत्रकार महासंघका युनिक बिफा घिसिङ, समाजसेवि जेएन दाहाल र दाहालगाउ टेकनपुर वृहत खानेपानी योजनाका अध्यक्ष तेजप्रसाद सुवेदीले आ आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।