मेछाप । चौरीगोठ पातलिए सगै गोठ सुरक्षाका लागि बफादार मानिएका लेकाली ‘भोटे कुकुर’ पनि पातलिएका छन् । जंगलको एकान्तमा हुने चौरीगोठका रक्षक मानिएका तेस्ता कुकुरहरु अव विरलै मात्र पाईन्छन् ।
‘भोटे कुकुर’ बढी ईमान्दार र बफादार हुन्छ । ‘कोहि नौलो आयो भने त्यसले कराएर मात्र छोड्दैन् सिघै झम्टन्छ, डराउदैन् । जंगली अरु जनावारको कुरै छाड्यौ उस्तै परे चितुवालाई तर्साएर फिर्ता पठाउने ताकत भोटे कुकुरले राख्छ’ गुम्देलका पेम्बा शेर्पा भन्छन् – तर अव हम्मेसी भोटे कुकुरनै भेटिदैनन् ।
बेसीं तिर बाट गएका कुकुरहरु मिसिएपछि लेकाली भोटेकुकुरको प्रजननमा पनि छ्यासमिस हुन थालेको छ । ‘भन्न भोटे कुकुर भने पनि यसो हेर्दा केहो केहो जस्ता कुकुरहरु निस्कन थालेका छन् ’ शेर्पा भन्छन् – त्यस्ताको ज्यानै पहिलेका भोटे कुकुरको जस्तो हुदैन्, भुकाईमा कमाण्ड राख्दैन् ।
भोटे कुकुर शरिर र उसको आवाजले प्रष्ट चिनिन्छ । अरु कुकुर भन्दा ठुलो र बाक्लो रौं भएको शरिर अनि ठुलो टाउको तथा ठुलै श्वरले भोटे कुकुर प्रष्ट चिन्न सकिने शेर्पाले वताए । तल बेशी तिरकालाई लेकमा जुन कुकुर पनि भोटे कुकुर होला भन्नेलाग्छ होला शेर्पाले भने – त्यसो होईन लेक भन्दैमा पाईने हैन्, माथि चौरीगोठ तिर एकादुई जन्मे भने मात्र हो, अव लेक हुदैमा भोटेकुकुर पाईदैन् । चौरीगोठ धेरै थोरै भएकाले कुकुरको संख्या पनि घटेको उनले दावि गरे । चुचुरे, बाम्ती, कुभुकास्थली र गुम्देलमा साविकका भन्दा झण्डै आधा चौरीगोठहरु घटेका छन् । प्राय खुला स्थानमा बाँधिने चौरीको रक्षा तिनै भोटे कुकुरले गर्ने गरेका थिए ।
सुरक्षाका लागि धेरै बफादार भएकालेनै भोटे कुकुरको माग अत्याधिक छ । विदेशी नाम चलेको ब्राण्डका कुकुर भन्दा भोटे.कुकुर राख्ने लोभ गर्नेहरु धेरै छन् । त्यसैले भोटे कुकुरको मोल पनि उत्तिकै बढी छ । राम्रो कुकुर अहिले ५० हजारको हाराहारीमा विक्री हुन्छ गुम्देलको लाहाछेवरका कर्मा शेर्पाले भने । शेर्पाका अनुसार सो क्षेत्रमा केहि गोठमा पुसको पहिलो साता तिर कुकुरको बच्चाहरु किन्नेहरु प्रशस्त पुग्छन् ।
भोटे कुकुरलाई उपयुक्त हावापानी पनि उच्च पहाडि क्षेत्रकै बढी सहज हुन्छ । तराई जस्ता गर्मी र होचो भूभागमा उक्त कुकुर फष्टाउदैन् ।
