रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको सुनापति आधारभुत अस्पताल भवनको बिहिबार भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र उर्जा जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका छन् ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्री घिसिङले साविकमा रामेछापको पश्चिमी क्षेत्रमा एउटा सिटामोल समेत खोज्दा नभेटिने अवस्था रहेको औल्याउदै हाल सुविधा सम्पन्न अस्पतालको निर्माण भएकोमा खुसी व्यक्त गरे । ‘यो प्रयाप्त हैन् तर पहिलेको भन्दा धेरै सुविधा थपिएको भने साच्चै हो ’ घिसिङले भने ।

सुनापति गाउँपालिकामै जन्मे हुर्केका मन्त्री घिसिङलाई स्थानीय बासिन्दाले विकास निर्माण र सेवा सम्बन्धि केहि माग पत्र पेश गरेका थिए । माग पत्रका विषयमा उनले हालको सरकार निर्वाचन गराउने उद्धेश्यले गठन भएकाले विकास निर्माणको आशा धेरै नगर्न आग्रह गरे । ‘ अव कस्तो सरकार बनाउने भन्ने कुरा तपाईहरुकै हातमा छ’ मन्त्री घिसिङले भने । कार्यक्रममा अस्पताल भवन निर्माणका लागि योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बागमति प्रदेश सभाका सदस्य युवराज चौलागाई, जिल्ला समन्वय समितिका उप प्रमुख प्रेमवहादुर थापा, गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट, जनस्वास्थ्य कार्यालयका कमल नारायण चौधरी, पूर्व गाउपालिकाका प्रमुख धावा लामा, राजनीतिक दलका प्रतिनिधिहरु लगाएतले आ आफ्ना धारणा राखेका थिए ।
नेपाल सरकारको ७ करोड भन्दा बढी लगानीमा निर्माण भएको उक्त अस्पताल भवनमा १० शैया क्षमता रहेको छ । अस्पतालमा हाल एकजना मेडिकल अधिकृहत सहित १३ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अस्पतालमा ओपीटि , प्रयोगशाला, आँखा परिक्षण, भिडियो एक्सरे, सुत्केरी गराउने सेवा लगाएतको सेवा संचालनमा रहेको छ । अस्पतालमा एक्सरे मेसिन भने छैन् ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख माधव प्रधानका अनुसार निकट भविष्यमानै दन्त सेवा र औषधि बिक्रीकक्ष समेत अस्पतालमा थप गर्ने योजना रहेको छ । नबनिर्मित अस्पताल भवनमा स्वास्थ्य परिक्षण, उपचार, विरामी राख्ने शैया कक्ष, सुत्केरी गराउने कक्ष, बैठक कक्ष लगाएतका पूर्वाधार रहेका छन् ।