रामेछाप । मन्थली बचत तथा ऋण सहकारी संस्थाको २८ औं बार्षिक साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । जिल्लाको अग्रणी उक्त सहकारी संस्थामा १४ हजार भन्दा बढी शेयर सदस्य र ३ हजार भन्दा बढी बाल सदस्य आवद्ध छन् । संस्थाले रामेछाप जिल्लाभर कार्यक्षेत्र बनाएर बचत तथा ऋण कारोवार गर्दै आएको छ ।
संस्थाका अध्यक्ष गोबिन्दप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त बार्षिक साधारण सभाको जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष जेएन दाहाल, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बद्री नयाँघरे र संस्थाका पूर्व अध्यक्ष ध्रवप्रसाद सुवेदीले आ आफ्ना धारणा राखेका थिए ।
संस्थामा भएको आर्थिक क्रियाकलाप र संस्थागत अवस्थाको बारेमा अध्यक्ष गोविन्द प्रसाद घिमिरे ,आगामी बर्षको लागि तय गरीएका निती तथा कार्यक्रमको बारेमा सचिव हिमाल ढुंगेल र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक टंकप्रसाद दाहालले प्रश्तुत गरेका थिए । संस्थाले कुल १ अर्व ५ करोड १३ लाख बचत संकलन, ८३ करोड ५७ लाख ऋण लगानी गरी गत बर्ष सम्म संस्थागत पूँजि १ अर्व ३७ करोड ६३ लाख पुर्याएको छ । संस्थाको शेयर पूँजि ९ करोड १२ लाख रहेको छ ।
संस्थाले क्षेत्रगत रुपमा यसअघी बार्षिक साधारण सभा विभिन्न इलाकामा सम्पन्न गरेको थियो । शनिबार त्यसलाई समापन गरेको हो । कार्यक्रममा संस्थाको विकासमा योगदान पु¥याउने पूर्व संचालक र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
यसैविच सहकारी ऐन बमोजिम संस्थाको आगामी ४ बर्षे कार्यकालका लागि अध्यक्ष गोविन्दप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार उपाध्यक्षमा चन्द्रा खड्का, सचिवमा हिमाल ढुंगेल, कोषाध्यक्षमा महेशराज घिमिरे समेत सर्वसम्मत निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा नविन केसी ( घिमिरे ) निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ ।
