रामेछाप । धान काटेर विटाको तयारीमा रहेका बेला परेको पानीले किसानहरुलाई पिडामा पारेको छ । निनमा रहेको धान पानीले भिजेको छ । रामेछापका विभिन्न फाँटमा यतिबेला धान काटेर निनमा राखिएको छ । निन भिजेपछि चामल कुट्का हुने र खाँदा गन्ध आउने हुन्छ । लामो समय सम्म पानी परेमा धान निनमै ढाडिने र उम्रने त्रास रहेको किसानहरुले वताएका छन् ।

बंगालको खाडिमा विकसित भएको चक्रपातका कारण आउदो शनिबार सम्म पानी पर्ने प्रक्षेपण मौसमविदहरुले गरेकाले किसानहरुमा थप अन्यौल पारेका छ । बर्षदिन भरी खाने प्रमुख बाली धान भित्र्याउने बेलामा आई परेको यो संकटले चामल बेसाउनु पर्ने बाध्यता आईपर्ने किसानहरुले वताएका छन् ।

मन्थली र जिल्लाका अन्य केहि फाँटमा भने न्यून संख्याका किसानले यसअघीनै धान भित्र्याईसकेका छन । सवैतिर धान झार्ने मेसिन नपुगेकाले पाखुराको भरमा धान झार्ने परम्परागत चलन छ । गाउँमा खेतिका लागि सहयोग गर्ने मानिस नहुदाँ किसानहरुले चाहेको बेला बालिनाली भित्र्याउन सक्न छाडेका छन् ।