सिन्धुली । असोजको तेश्रो साता आएको बाढीले क्षतिग्रस्त भएको विपी राजमार्गलाई पुन दुई तर्फी यातायात संचालन योग्य बनाइएको छ । बाढीले क्षति भएको उक्त सडक एकसातामै पुननिर्माण गरी एकतर्फी यातायात संचालनमा ल्याइएको र विस्तारै दुई तर्फी बनाइएको हो ।

सडक विभाग अन्तरगतको डिभिजन सडक कार्यालय भक्तपुर र खाल्टे सिन्धुलीका साथै स्थायी सडक निर्माणमा सम्लग्न भएका निर्माण व्यवसायीहरुको प्रयासमा सडक खोल्ने र चौडा पार्ने काम भएको हो । अव विपी राजमार्गको चौकीडाडाँको सानो खण्ड र दाउन्ने पुल नजिकको उकालोमा मात्र एकतर्फि सडक छ । उक्त स्थानलाई पनि फराकिलो बनाउने प्रयास भइरहेको प्राविधिकले जनाएका छन् ।

छठ पछि विपी राजमार्गको नयाँ डिजाईन बमोजिमको स्थायी निर्माण कार्य गर्न निर्माण व्यवसायी परिचालन गर्ने तयारी छ । यसअघी व्यवसायीहरुले विभिन्न ३ स्थानमा निर्माण सामाग्री, उपकरण र कामदारका लागि क्याम्प खडा गरिसकेका छन् ।

विपी राजमार्गको पुननिर्माणको काम थाल्दा रोशी खोला घटने र निर्माण व्यबसायीले निर्वाध काम गर्न खोलाको बगरबाट अस्थायी ट्याक बनाएर यातायात संचालन गर्ने तयारी भएको समेत वताइएको छ । त्यसो गर्दा निर्माण कार्य चाडो र तोकिएको समयमा सम्पन्न हुन सक्ने विश्वास प्राविधिकहरुको छ । तर उक्त कार्य हिउँदका महिनामा मात्र संभव रहने छ ।

सरकारले २०८१ असोजको बाढीबाट क्षतविच्छेद भएको बिपी राजमार्गको पुननिर्माणका लागि उच्च प्राथमिकता राखेर बजेट सुनिश्चिता गरेको छ । सरकारले बजेटको सुनिश्चिता गरे सगैं सडक डिभिजन भक्तपुरले २ खण्ड र खाल्टेले एक खण्डको पुननिर्माणका लागि ठेक्का लगाएका छन् भने बाँकी रहेको एक खण्ड जापान सरकारले आफै निर्माण गर्ने तयारी गरेको छ । विपी राजमार्गको अव हुने निर्माण दोहोरो सवारी संचालन गर्न सक्ने गरी हुन लागेको हो ।